विप्लवद्वारा जनस्वास्थ्य केन्द्रको शिलान्यास : एक महिनाभित्र निर्माण सम्पन्न हुने

२०७८ बैशाख २८ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ बानियाँभारमा निर्माण हुने सो केन्द्रको एक महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ । मङ्गलबार शिलान्यास गरिएको उक्त भवन शिवगढीका बासिन्दाको सक्रियता र नेपाल कम्युनिस्ट पार्टीको आफ्नै लगानीमा निर्माण हुनेछ । जनस्वास्थ्य केन्द्रको शिलान्यास कार्यक्रममा नेकपाका महासचिव विप्लवले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि कोरोना सङ्क्रमितहरूको उपचारका लागि यस केन्द्रबाट सहज रूपमा विभिन्न सेवाहरू प्रदान गरिने बताए । उनले उक्त जनस्वास्थ्य सेवा केन्द्रलाई अझै विस्तार र प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।


जनस्वास्थ्य सेवा केन्द्रबाट दीर्घकालीन रूपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्धसहित अगाडि बढाउने र सबैले मिलेर यसलाई समयअनुसार बिस्तारै सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गरिनुपर्नेमा उनले जोड दिएका छन् । कोरोना महामारीलाई परास्त गर्नु मानवीय कर्तव्य भएको बताउँदै विप्लवले सबै नागरिकको स्वास्थ्यलाई ध्यान दिनु अहिलेको आवश्यकता भएकाले कठिन समयमा सबैलाई आआफ्नो ठाउँबाट भूमिका र जिम्मेवारी निर्वाह गर्न अनुरोध गरे ।
कार्यक्रममा नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्य थियो भने केन्द्रीय सदस्य चन्दबहादुर चन्द ‘वीरजङ्ग’ विशिष्ट अतिथि थिए । अन्य अतिथिहरूमा केन्दीय सदस्यहरू सञ्जीव, असल, जुझारु, नेकपा कपिलवस्तु सचिव शेरमान, शिवराज ९ वडा अध्यक्ष चुरबहादुर खड्का, सहिद प्रतिष्ठानका अध्यक्ष भेकबहादुर थापा, शिवगढी सेक्रेटरी पावेल उपस्थित थिए । दिलमाया थापाले कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु