मार्क्स र मार्क्सवादलाई मार्क्सवादी भनिनेहरुबाटै बचाऔं

२०७८ बैशाख २३ गते, बिहीबार


नारायण शर्मा


“Karl Heinrich Marx was a German philosopher, economist, historian, sociologist, political theorist, journalist and socialist revolutionary. Born in Trier, Germany, Marx studied law and philosophy at university. He married Jenny von Westphalen in 1843. ” Wikipedia .

सन् १८१८ मा आजकै दिन मई ५ मा जर्मनीको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएका कार्ल मार्क्सबारेको उपरोक्त चिनारीबाट मात्र पनि उनी एक बहुप्रतिभाशाली विद्वान व्यक्तित्व एवम् समग्र विषयका अध्येता, ज्ञाता र कानूनवेत्ता समेत थिए भन्ने स्पष्ट हुन्छ ! यसका अतिरिक्त उनी एक सच्चा सर्वहारावादी चिन्तक, अन्तर्राष्ट्रियतावादी विचारक, कम्युनिस्ट सिद्धान्तकार, कम्युनिस्ट पार्टीका संस्थापक नेता र घोषणापत्रका लेखक, युगान्तकारी सिद्धान्त मार्क्सवादका मुख्य प्रवर्तक, एक सर्वसचेत संगठक र सर्वाधिक अथक, अटल, अजेय, अचूक र अझूक योद्धा तथा एक क्रान्तिकारी सामाजिक बैज्ञानिक समेत थिए ।
मार्क्स एक सर्वाधिक ठुला दार्शनिक र अकाट्य दर्शन द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका प्रवर्तक समेत हुन् ! उनी पुँजीवादका अत्यन्त ठुला र कट्टर आलोचक पनि थिए ! हरेक वस्तु, व्यक्ती, विचार, वर्ग, वृत्ती र व्यवहार आदिलाई हेर्दा र बुझ्दा बहुआयामिक ढङ्गले हेरेर मात्र बुझ्न सकिन्छ भन्दै सबैप्रती प्रश्न उठाउनुपर्छ भन्ने मान्यता राख्थे । आलोचनात्मक चेत उनको एउटा सबभन्दा ठूलो गुण थियो ! उनले बारम्बार कुनै घटना, काम-कार्वाही र कृयाकलापहरुको अन्ध समर्थन वा अन्ध विरोध होइन कि सचेत समर्थन र सचेत विरोधमा जोड दिन्थे । कम्युनिस्टहरुको चेत नै आलोचनात्मक हुनुपर्ने र दृष्टिकोण पनि वस्तुवादी र बैज्ञानिक हुनुपर्नेमा उनको सधै अत्यधिक जोड रह्यो !
यसरी के पुष्टि हुन्छ भने मार्क्स एक अद्वितीय व्यक्तित्व र विविध क्षेत्रका एक अपूर्व र सम्भवत: अपश्चात् महान् सामाजिक नेतृत्व नै थिए ! तर विडम्बना यस्ता महात्मालाई सन् १९४५ मा उनको जन्मभूमी जर्मनीबाट निकालियो र त्यसपछी त उनी राज्यहीन नागरिक अर्थात् अनागरिक नै बनाइए !
आज नेपालमा भने मार्क्सलाई एक महान् विचारक र महानतम क्रान्तिकारी सिद्धान्तकारको रुपमा मुखले, कलमले, कम्प्युटरले, मोबाइलले र दस्तावेजले मान्नेहरु त अत्यधिक नै छन् तर जीवन-व्यवहारमा मार्क्सका विचार-सिद्धान्त, भावना-कार्य, निष्ठा-नैतिकता र आस्था-आदर्शरुपी त्याग-तपस्या र योगदान-बलिदानलाई आत्मसात गर्न र लागू गर्नेभन्दापनी मार्क्स-मार्क्सवाद, समाजवाद-साम्यवाद र कम्युन-कम्युनिस्टको नाम भजाएर वा रामनामी ओढेर, अथवा भजन-कीर्तन गरेर भोज र मोज गर्नेहरु भने बग्रेल्ती छन् !
जे होस्, मार्क्स जन्मेको करिब २०० बर्ष पुग्नलाग्दा-नलाग्दै मार्क्सका विरोधीहरु समेत मार्क्सलाई गत हजार बर्षको अवधी (सहश्राब्दी) मा संसारमै सबैभन्दा ठूलो योगदान गर्ने सर्वोच्च आदर्श महापुरुष भन्न बाध्य भए ! तथापी मार्क्सलाई अझै पनि पुँजीवादी-साम्राज्यवादीहरु लगायत अन्य कतिपय अध्यात्मवादी मानिसहरुले यस्तो मान्न तयार छैनन् ! अझ धेरै दुखद विडम्बनाको कुरा त के छ भने आफूलाई कट्टर मार्क्सवादी कम्युनिस्ट नै भन्ने नेकपाका अध्यक्ष र नेपालका केन्द्रीय कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री समेत भैसकेका केपी ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव नेपाल र झलनाथ खनाल अनि अन्य कतिपय देसका शासकहरु र तिनका आसे, पासे, गासे र दासेहरुले मार्क्सलाई यो स्तर र रुपको एक त्यागी, तपस्वी महान् यशस्वी आदर्श नायक मान्न अनि उनका विचार, भावना र कार्यहरुलाई जीवन-व्यवहारमा लागू गर्न-गराउन तयार भएनन् र छैनन् पनि ! अझ, तयार नहुने मात्र होइन, उल्टो गर्न र मार्क्स र मार्क्सवाद अनि कम्युनिस्ट र कम्युनिज्मलाई समेत बदनाम गर्न उद्यत छन् ! फलस्वरुप मार्क्स र मार्क्सवादलाई मार्क्सकै अनुयायी-उत्तराधिकारी भनिनेहरुबाटै बदनाम गर्ने, भ्रष्टीकरण गर्ने, कमजोर पार्ने र विनास गर्नेजस्ता घातक कामहरु भैरहेका छन् ! त्यसैले मार्क्स र मार्क्सवादलाई तथाकथित मार्क्सवादीहरुबाट जोगाउनु यतिबेला अत्यन्त जरुरी भएको छ !
अहिले मार्क्स र मार्क्सवादलाई चाहे कोहिले मानून् वा नमानून्, अवलम्बन र कार्यान्वयन गरून् वा निषेध र तिरष्कार गरून् अथवा विकृतीकरण र भ्रष्टीकरण नै किन नगरून्, मार्क्स आधुनिक युगका एक कालजयी र त्रिकाल दर्शी महान् महर्षी थिए, हुन् र भैरहनेछन् भन्नेमा कुनै शंका छैन ! तसर्थ कम्तीमा हामी सच्चा मार्क्सवादीहरुले र सच्चा सर्वहारा अंतरराष्ट्रीयतावादीहरुले वा भनौं पक्का मार्क्सवादी-लेनिनवादी-माओवादीहरुले त हाम्रो युगका महानतम आदर्श नायक कार्ल मार्क्सका विचार, भावना, संघर्ष, समर्पण, त्याग, तपस्या र दुखकष्टजन्य कामकार्वाहीहरु लगायतका महत्तम योगदानहरुको कदर, अवलम्बन, कार्यान्वयन र विकास गर्नैपर्छ र गरौं ! यही नै र यसरी नै एकातिर कार्लमार्क्सको सर्वाधिक सुन्दर, सभ्य र समुन्नत संसार निर्माणको गति अघि बढ्नेछ भने अर्कातिर उहाँप्रतिको सच्चा श्रद्धाञ्जली, साम्यवादी स्मरण र क्रान्तिकारी सलामी हुनेछ ! हाम्रा आदर्श महानायक कार्ल मार्क्सप्रती उहाँको २०४ औं जन्मजयन्तिका सन्दर्भमा हार्दिक सम्झना, असीम श्रद्धासुमन र क्रान्तिकारी अभिवादन !!
अन्तमा, मार्क्सको यो सारैनै तीक्ष्ण भनाइसहित बिट मार्न चाहन्छु : “The last capitalist we hang shall be the one who sold us the rope.”

प्रतिक्रियाहरु