टिकटकको प्रमुखमा शोउजी चेउ नियुक्त

२०७८ बैशाख २२ गते, बुधबार

काठमाडौँ । लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले प्रमुख कार्यकारीमा शोउजी चेउलाई नियुक्त गरेको छ । शोउजी चेउ टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए । शोउजीसँग यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर काम गरेको अनुभव छ । शोउजी सिइओ नियुक्त भएसँगै कम्पनीमा अन्तरिम प्रमुखको भूमिकामा रहेकी भ्यानेसा पाप्पाजलाई टिकटकको प्रमुख कार्यसञ्चालन अधिकृत अर्थात् सिओओको जिम्मेवारी दिइएको छ । एक विज्ञप्तिमा बाइटडान्सका सिइओ यिमिंग झांगले भनेका छन् : चेउ र भ्यानेस्साको नेतृत्वले दिगो वृद्धिको मार्ग प्रस्तस्त गर्नेछ ।
चेउसँग टिकटक कम्पनी तथा प्रविधि उद्योगको बारेमा गहन ज्ञान रहेको र कम्पनीकै सुरुवाती लगानीकर्ताको टोलीलाई हाँकेको र प्रविधि क्षेत्रमा एक दशकसम्म काम गरेको अनुभव रहेको भन्दै झांगले उनले कम्पनीमा गहना थप्नुका साथै कर्पोरेट गभर्नेन्स र दीर्घकालीन व्यवसायिक प्रयासहरुमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।
टिकटकका नव नियुक्त प्रमुख कार्यकारी चेउ सिंगापुरका हुन् । उनी सिंगापुरस्थित टिकटक कार्यालयबाट काम गर्नेछन् । यसबाट टिकटकलाई अमेरिकी सिइओ नै आवश्यक हुन्छ भन्ने मान्यता पनि खण्डित भएको बताइएको छ ।
गत वर्ष टिकटकले डिज्नी कम्पनीका पूर्व व्यवस्थापक केभिन मायरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर उनले राजनीतिक वातावरणमा ठूलो परिवर्तन आएको भन्दै ३ महिनामै राजिनामा दिएका थिए । मायरको राजिनामा पछि टिकटकले आफ्नो अमेरिकास्थित शाखा प्रमुख पाप्पाजलाई अन्तरिम सिइओमा बढुवा गरेको थियो ।
टिकटक अमेरिकामा निकै लोकप्रिय छ, जहाँ टिकटकका १० करोड भन्दा धेरै प्रयोगकर्ता छन् ती मध्ये ६० प्रतिशत भन्दा बढि १० देखि २९ वर्षका छन् ।
विश्वमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ६८ करोड ९० लाख छ । टिकटक एप अहिलेसम्म २ अर्ब पटक डाउनलोड भइसकेको छ । एप स्टोरमा समेत सर्वाधिक डाउनलोड हुने एपको रुपमा टिकटक रहेको छ । तथापि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अमेरिकामा टिकटकको भविष्य अनिश्चित बनेको थियो । तर जो बाइडेन राष्ट्रपति बनेसँगै टिकटकमाथिको संकट टरेको विश्लेषण गरिएको छ । गत फेब्रुअरीमा बाइडेनले अमेरिकी संघीय अदालतलाई टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पकालीन आदेश रोक्का गर्न आग्रह गरेका थिए । टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने गरेको आरोप ट्रम्प प्रशासनको थियो । तर टिकटकको मातृ कम्पनी बाइटडान्सले भने अमेरिकी टिकटक प्रयोगकर्ताका सबै डाटाहरु सिंगापुरस्थित अमेरिकी सर्भरमै सुरक्षित राखिएको र प्रयोगकर्ताका डाटा कुनैपनि सरकारलाई नदिने बताएको थियो ।- सिएनएन

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु