‘बालिकामाथि अमानवीय र आपराधिक कार्य गर्नेलाई कडा कारबाही गर’

२०७८ बैशाख २१ गते, मंगलवार


काठमाडाैं । अखिल (क्रान्तिकारी) कास्कीले बिहे हेर्न आएकी एक बालिकामाथि तीनजनाको समूहले पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्तो अमानवीय र आपराधिक कार्य गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । सो सङ्गठनकी उपाध्यक्ष कमला परियारले विज्ञप्ति जारी गर्दै वैशाख २० गते बाजुराको त्रिवेणी नगरपालिका ९ मलाल गाउँमा बिहे हेर्न आएकी बालिका सभ्यता बुढामाथि सुमन गिरीसहित ३ जनाको समूहले पेट्रोल छर्किएर आगो लगाई मार्न खोज्ने जस्तो अमानवीय र आपराधिक कार्य गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गर्दै अन्यथा सङ्गठन कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएकी छिन् ।
उपाध्यक्ष परियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही २०७८ वैशाख २० गते बाजुरा जिल्ला त्रिवेणी नगरपालिका ९ मलाल गाउँमा विवाह हेर्न भनी गएकी बालिका सभ्यता बुढामाथि पेट्रोल हालेर आगो लगाई मार्न खोजिएको अमानवीय घटनाप्रति हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ । उक्त निन्दनीय घटनाको घोर विरोध गर्दछौँ । यस्ता अमानवीय, आपराधिक मानसिकता बोकी यस्तो कहालीलाग्दो घटना गराउने सुमन गिरीसहित तीनैजना दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गर्दछौँ ।’
विज्ञप्तिमा भनिएको छ, ‘उक्त आपराधिक घटनालाई कुनै पनि बहानामा ढाकछोप गर्न खोजिएको खण्डमा हाम्रो सङ्गठन कडा सङ्घर्षमा उत्रने चेतावनी यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ ।’

प्रतिक्रियाहरु