कोरोना प्रतिरोधी जडिबुटीहरू

२०७८ बैशाख २० गते, सोमबार
डा. हेमराज कोइराला

विश्व आज कोरोना महामारीको चङ्गुलमा फस्दै गइरहेको छ । रोगलागेका मध्ये ३ प्रतिशत विरामीहरूको मृत्युवरण भइसकेको र रोगको खास रोकथाम, नियन्त्रण एवं उपचारका कुनै पनि औषधि एवं भ्याक्सिन बनिनसकेकाले अझै कति मान्छेहरू यो रोगले मर्ने भन्ने टुंगो छैन । यो रोगको संक्रमणको कारणले मर्नेहरूको तथ्यांक हेर्दा अधिकांश ९९ प्रतिशत मान्छेहरूको प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर रहेको र अन्य रोगहरू जस्तै मधुमेह, मृगौला रोग, क्यान्सर, दम खोकी मोटोपन, मुटुरोग, अनियन्त्रित कोलेस्टेरोल, वात, अटोईम्यून जस्ता समस्याले ग्रस्त भएको पाइयो र यो तथ्यले के पनि पुष्टि गर्दछ भने जसको प्रतिरक्षा प्राणाली कमजोर छ उसैलाई कोरानाको समस्याले ज्यादा आक्रान्त पार्दछ र मृत्यु हुन सक्दछ । यस परिप्रेक्ष्यमा यो रोगलाई जित्नको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई मजबुत पर्नुपर्ने हुन्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र कोरोना संक्रमणलाई रोक्न निम्नलिखित जडिबुटीहरूलाई निम्नलिखित विधिले उपयोग गर्न सकिन्छ ।

के–के हुन ती जडिबुटीहरू ?

गुर्जो, दालचिनी, मरिच, जेठी मधु, पिप्ला, जीरा, धनिया, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, आदिमध्ये कुनै एकको उपयोग गर्न सकिन्छ ।

यी जडिबुटी हरूको उपयोग कसरी गर्ने ?

क. गुर्जोको उपयोग गर्दा आफ्नो बित्ताले एक बित्ता (१० देखि १५ से.मी.) लामो ताजा गुर्जोको डाँठलाई राती सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिदिनुहोला र यो पानीलाई भोलिपल्ट बिहान कपडाले छानेर पिउनु होला । गुर्जोको धुलो (गुडूची चुर्ण) प्रयोग गर्नुहुन्छ भने ५ ग्राम गुडूची चुर्णलाई एक गिलास तातोपानीमा हालेर छोपिदिनुहोस् । छोपेको ५ मिनेटपश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनुहोस् ।

ख. तीन ग्राम दालचिनीको धुलोलाई एक गिलास तातोपानीमा हालेर पिउँदा वा बजारमा उपलब्ध दालचिनीको एउटा क्याप्सुल राति सुत्ने बेलामा खाँदा पनि रोग प्रतिरोधक क्षमता बढ्दछ ।

ग. जीरा, धनियाँ, बेसार, लसुन, ज्वानोजस्ता मरमसला एवं जडिबुटीहरूलाई खानामा समावेश गरौँ वा यी जडिबुटीहरूको एक चम्चा धुलोलाइ २ गिलास पानीमा हालेर उमालेर पिउँदा पनि कोरोना प्रतिकार गर्नमा मद्दत पु¥याउँदछ ।

घ. जडिबुटी काँडाको प्रयोग ः आधा लीटर पानीमा १ ग्राम (एक चुट्की) मरिच, १ ग्राम सूठो, १ ग्राम दालचिनी, एवं १ चिया चम्चा सख्खर हालेर उमाल्नुहोस् । सबै जडिबुटीहरू मजाले पाकिसकेपछि १० वटा तुलसीको पातलाई त्यस घोलमा हालेर ढाकी दिनुस् । यसरी बनेको काढालाई ५ मिनेटपश्चात तात्तातै पिउनुस् । यो काढाले प्रतिरक्षा प्रणलीलाई मजबुत पार्नुका साथै कफ फटाउने एवं गला बसेको, घाटी दुखेको, निको पार्दछ ।

ङ. अचानक रुघामर्कीले सताई हाल्यो भने मरिच, सूठो र सख्खरलाई एक साथ उमालेर चूल्होबाट निकाली सकेपश्चात तातै घोलमा एउटा असुरोको पातलाई राम्रोसँग धोएर ससाना टुक्रा बनाएर उक्त घोलमा हालेर छोपिदिनुहोस् । यसरी बनेको काढालाई ५ मिनेटपश्चात तात्तातै पिउनुहोस् ।

च. ५ ग्राम अमलाको चुर्णलाई वा त्रिफला चूर्णलाई एक गीलास तातोपानीमा हालेर छोपिदिनुहोस् । छोपेको ५ मिनेटपश्चात् यो औषधिलाई बिस्तारै स्वाद लिँदै पिउनुहोस् । यसरी बनाएको औषधि दैनिक २ देखि ३ चोटी पिउनुहोस् ।

छ. एक चम्चा जेठीमधु चूर्णलाई आधा चम्चा मरिच, सूठोे, र पिप्लाको संयुक्त मिश्रणमा मिसाएर आधा लिटर पानीमा हालेर उमालेर पिउँदै गर्नुहोस् ।

ज. एक गिलास दूधमा १ देखि २ ग्राम शुद्घ बेसार हालेर राती सुत्ने बेलामा पिउनुहोस् । यो विधिले पनि प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ ।

झ. आधा–आधा घण्टामा एक–एक गिलास मनतातो पानी पिउँदै रहनु होला ।

ञ. ज्वानोको झोल ः तात्तातो ज्वानोको झोलले पनि मुख एवं घाँटीमा रहेका व्याक्टेरिया एवं भाइरस मार्न मद्दत गर्दछ ।

(लेखकः भरतपुर महानगरपालिका १ वागीश्वरी चितवन स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु