मालेमावाद ः सर्वहारा क्रान्तिको आजसम्मका विकासको सर्वाेच्च शिखर

२०७८ बैशाख २० गते, सोमबार
डा. भगवानचन्द्र ज्ञवाली

सन् १८९३ मा चीनामा जन्मेका माओत्सेतुङ्ले जनवादी क्रान्ति र समाजवादी क्रान्तिको अभूतपूर्व, महाकाव्यात्मक विश्व ऐतिहासिक प्रयोगका क्रममा झण्डै आधा शतकसम्म चीनका सर्वहारा वर्ग र श्रमजीवि वर्गको नेतृत्व गर्दै र करीब एक चौथाइ शतकसम्म अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र संसारभरका इमान्दार कम्युनिष्टहरूका मार्गदर्शक, शिक्षक र नेताको भूमिका निर्वाह गर्दै सर्वहारा क्रान्तिका विज्ञानलाई सर्वथा नवीन गुणात्मक र उन्नत स्तरमा पु¥याए । उनी एकजना एकनिष्ठ क्रान्तिकारी आदर्श कम्युनिष्ट, जनताका सच्चा नायक र सच्चा सपूत, एक निर्भीक वैज्ञानिक अनि समस्त मानव जातिको इतिहास पुरुषका शृङ्खलाका एक कडीका रूपमा थिए । उनी हाम्रा समयका महानतम क्रान्तिकारी थिए । अनि माक्र्सवाद, लेनिवादपछिका आजसम्मको इतिहासका सबैभन्दा कान्छा तेस्रा महान् सिद्धान्तकार थिए । चिनियाँ क्रान्तिको प्रकृति, कार्यक्रम र मार्गको खोजी र त्यसको सत्यापनका माध्यमबाट माओत्सतुङ्ले चिनियाँ जनताको मात्र होइन, संसारभरका श्रमजीवि जनतालाई मुक्तिको नयाँ मार्ग देखाए । नयाँ जनवादी क्रान्तिका समयमा चिनियाँ जनताको नेतृत्व गर्दै, आधुनिक संशोधनवादका विरुद्ध विश्वव्यापी सङ्घर्षलाई अघि बढाउँदै र सर्वहारा अधिनायकत्वमातहत क्रान्तिलाई जारी राख्ने सिद्धान्त, मार्ग र स्वरूपको खोजी गर्दै माओले राजनीतिक अर्थशास्त्र, दर्शन र वैज्ञानिक समाजवादसमेत माक्र्सवादका तीन अभिन्न अवयवहरूको सर्वतोमुखी विकास गरे ।

उनले लेनिनका नेतृत्वमा रुसमा भएको युगान्तकारी र महान् अक्टुवर क्रान्तिसम्बन्धी माक्र्सवादी प्रस्थापनासहित सबै मूलभूत माक्र्सवादी आधारभूत पक्षको पोषण गरे । रुसको क्रान्तिकारी परिस्थिति आफैँमा सापेक्षिक रूपमा एउटा विशिष्ट र सङ्क्रमणशील परिस्थिति थियो । सर्वहारा क्रान्तिको प्रतिपादन पछि क्रान्तिको तुफानको केन्द्र पश्चिम युरोपबाट पूर्वीतिर बढ्दै रुसमा स्थित हुन पुग्यो । रुसमा त्यतिबेला नै उत्पादन शक्ति यति उन्नत थिए कि बुर्जुवा जनवादी क्रान्ति सम्पन्न भएको आठै महिनाभित्र त्यहाँका सर्वहार वर्गले समाजवादी क्रान्तिलाई अभ्यासमा ल्याए । चीन पनि प्रतिनिधिमूलक ढङ्गले पूर्वको यस्तो देश थियो जुन आन्तरिक सामन्ती, साम्राज्यवादी, उपनिवेशवादी उत्पीडनबाट झण्डै बर्बाद भइसकेको थियो र बहुसङ्ख्यक उत्पीडित किसान वर्गको अवस्था एकदम नाजुक थियो । त्यसैले त्यसबेला चीन क्रान्तिका केन्द्र बन्नपुग्यो । त्यसैले माओले राष्ट्रिय जनवादी क्रान्ति सम्पन्न गर्दै लेनिनका सिद्धान्तको सत्यापन गर्नाका साथै स्टालिनका जनवादी क्रान्तिसम्बन्धी त्रुटिहरूमा सुधार गरे र उपनिवेश, अर्ध उपनिवेश र नव उपनिवेशले थिचिएका, सामन्तवाद र साम्राज्यवादले शोषित मुक्तिकामी जनता र सर्वहारा वर्गलाई नयाँ मार्ग प्रदान गरे । बिसौं शताब्दीमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका अनेक देशहरूमा सञ्चालित मुक्तियुद्धहरूमाथि माओको नेतृत्वदायी प्रभाव पर्नगयो । नेपालको कोर्डिनेशन केन्द्रसहित कतिपय कम्युनिष्ट पार्टीहरूले त चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष भन्ने समेत नारा बनाए । जनवादी क्रान्ति सम्पन्न हुँदै जाँदा मूर्त रूपमा उपनिवेश र नवउपनिवेशको संसारबाट अन्त्य हुँदै गयो भने साम्राज्यवादले काफी हदसम्म धक्का खानुप¥यो । बन्दुकधारी शत्रु पराजीत भएका भए पनि बिना बन्दुकका शत्रु अझैं सक्रिय थिए जो ज्यानको बाजी नै लगाएर क्रान्तिका विरुद्ध लड्न तयार थिए । अतः अमूर्त दुश्मनको पनि कहिल्यै उपेक्षा गर्नुहुँदैन । त्यसबेला पनि प्रतिक्रान्तिको तीव्र सम्भावना विद्यमान थियो । अतः समग्र कुटिल शक्ति लगाएर आफ्नो सङ्कटको समाधान र प्रतिक्रान्तिको विश्वव्यापी तरङ्ग पैदा ग¥यो । त्यो आजको आर्थिक साँस्कृतिक उपनिवेशमा देख्नसकिन्छ ।

सन् १९४९ सम्म नै माओले औपनिवेशिक देशमा हुने क्रान्तिको प्रकृति, स्वरूप, मार्ग, सामरिक रणनीति तथा क्रान्तिकारी संस्कृति र साँस्कृतिक आन्दोलनको स्वरूपबारे संसारभरका सर्वहारा वर्गलाई प्रशिक्षित गर्दै क्रान्तिका विज्ञानलाई गति प्रदान गरे । उनले व्यवहार– सिद्धान्त—व्यवहारका प्रक्रियाबाट जनताको जनवादी क्रान्तिको सिद्धान्त पनि प्रतिपादन गरे । अनि रणनीति र रणकौशल विकास गर्दै क्रान्तिको दुरुह र घुमाउरो बाटामा चिनियाँ जनताको नेतृत्व गरे । उनले अर्धऔपनिवेशिक र अर्धसामन्ती चिनियाँ समाजको सुस्पष्ट विश्लेषण गर्दै किसान समुदायको क्रान्तिकारी भूमिकाका विविध पक्षको निरूपण गरे । अनि मजदुर किसान संयुक्त सङ्घर्षको सिद्धान्त र भूमिक्रान्तिबारे माक्र्सवादी चिन्तनलाई समृद्ध पारे । त्यस नयाँ प्रयोगलाई उनले समाजवादी क्रान्तिकालमा पनि निरन्तर जारी राखे । कृषिप्रधान समाजमा जनवादी —समाजवादी क्रान्तिको कार्यभार पूरा गरे । त्यसैबेला उनले तीन चमत्कारी हतियार—पार्टी, जनसेना र संयुक्त मोर्चाको अवधारणा निर्माण गरेर अन्य क्रान्तिमा संलग्न राष्ट्रहरूका लागि अनिवार्य बताए । त्यसअघि माक्र्स एङ्गेल्सले समाजलाई गति दिने क्रममा सशस्त्र सङ्घर्ष र लाल आतङ्कको ऐतिहासिक अनिवार्यतामाथि जोड दिंदै अमेरिकी गृहयुद्ध, युरोपका प्रगतिशील युद्ध र विशेषतः पेरिस कम्युनका सामरिक पक्षको औचित्यपूर्ण विश्लेषण प्रस्तुत गरेका थिए । लेनिनले पनि सन् १९०५ को असफलतादेखि नै सर्वहारा क्रान्तिको सामरिक रणनीतिका बारेमा सघन चिन्तन गर्न थालेका थिए । जसलाई अक्टुबर क्रान्ति, त्यसपछिको गृहयुद्ध तथा साम्राज्यवादी आक्रमणकालमा रुसी सर्वहारा वर्गको विजयले अझ उत्कर्षमा पु¥यायो । लेनिन र स्टालिनले अविकसित पुँजीवादी देशहरूमा सशस्त्र विद्रोह र युद्धका सिद्धान्तको प्रतिपादन गरेका थिए ।

झण्डै २० वर्षसम्म युद्ध सरदाहरूका विरुद्ध, चेङ्काइसेक्को प्रतिक्रियावादी शासनका विरुद्ध, जापानी आक्रमणका विरुद्ध अनि अमेरिकी साम्राज्यवादी आकाङ्क्षाका विरुद्ध जनताको क्रान्तिकारी युद्ध, चिकपा, चिनियाँ जनता र लालसेनाको नेतृत्व गर्दै माओले दीर्घकालीन जनयुद्धको राजनीतिक, सामरिक सिद्धान्त र रणनीतिको प्रतिपादन गरेको मात्र होइन, साम्राज्यवाद उत्पीडित अविकसित देशहरूको क्रान्तिकारी सूत्र पनि तयार गरे । क्रान्ति र प्रतिक्रान्तिका बीच वर्गका आधारमा विभाजक रेखा तयार गरे । अनि क्रान्तिकारी हिंसाको अपरिहार्यता र न्यायसङ्गतिबारे बोल्दै राजनीतिक सत्ता बन्दुकका नालबाट जन्मिन्छ भन्ने निष्कर्ष दिए । राजनीति, अर्थनीति र सांस्कृतिक नीतिसहित हरेक समयमा जनतामाथि विश्वास राख्ने, तिनलाई जागृत गर्ने र सङ्गठित गर्दै क्रान्तिकारी जनदिशा र राजनीतिमाथि नियन्त्रणको विचारलाई आफ्ना जीवनका अन्तिम घडीसम्म उपयोग गरे । जुनसुकै वर्गीय युद्धमा जनता नै निर्णायक हुन्छन् हतियार होइन, त्यस्तो वर्ग आआफ्ना विशेषताअनुसार युद्ध लड्छन् । उनले जनयुद्धको रणनीति र रणकौशलको समुचित प्रयोग जनसेनाले नै गर्नसक्छ शत्रु सेनाले होइन भने । सर्वहारा वर्ग नै क्रान्तिकारी युद्धको मूलशक्ति र लौह किल्ला हुन्छ । माओले गाउँहरूमा आधार इलाका निर्माण गरेर, तिनको तूफानझैं विस्तार गर्दै जनताको सशस्त्र र राजनीतिक शक्ति बढाएर, आधार इलाकालाई राजनीतिक, आर्थिक र सांस्कृतिक रूपले विकसित, समृद्ध र क्रान्तिकारी रूपान्तरण गर्दै गाउँले सहर घेर्दै पूरै देशमा राजनीतिक सत्ता कायम गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिदिए । बन्दुक पार्टीका नियन्त्रणमा हुनुपर्छ पार्टी बन्दुकका नियन्त्रणमा होइन भन्ने शिक्षा दिए । चिनियाँ क्रान्तिका अनुभवले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका अधिकांश उत्पीडित राष्ट्र तथा पराधीन देशहरूमा चलेका मुक्ति युद्धामा नयाँ दिशा दियो । ख्रुश्चेवले विश्व कम्युनिष्ट आन्दोलन र सर्वहारा वर्गप्रति गद्दारी नगरेको भए र संशोधनवादी प्रतिक्रान्तिकारी धार सञ्चालन नगरिदिएको भए अविकसित देशहरूमा साठीकै दशकमा नै क्रान्ति सम्पन्न हुने थिए । त्यसै सन्दर्भमा माओले सर्वहारवादी सामरिक रणनीति विकास गरे ।

माओको यो सिद्धान्त अविकसित तथा उत्पीडित देशहरूमा मात्र होइन, विकसित देशहरूमा पनि समाजवादी क्रान्तिका लागि सार्वभौम सिद्ध भएको छ । दुनियाँ आज एउटा भूमण्डलीकृत राज्य बन्न गएको छ । संस्कृति र आमसञ्चार संयन्त्र साम्राज्यवादी शक्तिको अनुचर बन्न गएको छ अनि उपनिवेश र नवउपनिवेशवादी चरणबाट संसारले आर्थिक उपनिवेशवादी चरण पार गरिसकेको छ । जसले गर्दा अविकसित र अल्पऔद्योगिक देशहरूले विश्व बजार अर्थतन्त्र र प्रविधिमा आफ्नो आधिपत्य कायम गर्न सफल भएका छन् । तेस्रो विश्वको राष्ट्रिय पुँजीपति वर्ग यतिबेला विश्व साम्राज्यवादविरुद्ध जनताका सङ्घर्षको आश्रयस्थल रहेन किनभने विश्वबजारमा ऊ जोतिइसकेको छ । उसको लडाइ अब लूटको मालको हिस्सेदारीमा केन्द्रित छ । उसको कुनै पनि काम अब क्रान्तिकारी वा राष्ट्रवादी रहेन । प्राक् पुँजीवादी सामाजिक आर्थिक अवस्था भएका देशमा बाहेक विश्वमा साम्राज्यवादी जञ्जीर अन्यत्र बाँकी छैन । ती अल्पविकसित देशहरूमा पनि केन्द्रीकृत राजनीतिक र आर्थिक प्रक्रियाले पकड जमाइसकेको छ र ती देशहरूमा पुँजीवाद—साम्राज्यवाद विरोधी क्रान्तिका लागि दीर्घकालीन जनयुद्धको साार्थकता अझै समाप्त भइसकेको होइन । उपनिवेश र अर्धउपनिवेशबाट पीडित देशहरूमा विकसित जुन कमजोर पुँजीवाद छ त्यहीँ मात्र कृषि प्रधान समाजका अवशेषका रूपमा रहेको छ । अतः ती देशका समाजवादी क्रान्तिमा गाउँले, गरिब तथा मध्यम वर्र्गीय किसान र ग्रामीण सर्वहारा वर्गको अहम् भूमिका रहिरहन्छ । त्यसमा सङ्घर्षको ठोस रूप र बाटाको चर्चासमेत त्यागे पनि के दाबी गर्नसकिन्छ भने यस्ता सबै देशहरूको समाजवादी क्रान्तिको बाटो अक्टुबर क्रान्तिको आमविद्रोह वा सशस्त्र विद्रोह जस्तो हुँदैन जस्तो विकसित पुँजीवादी देशहरूमा हुन्छ । तिनमा दीर्घकालीन जनयुद्धका धेरैजसो तत्व समावेश भएका हुन्छन् । ती देशका सर्वहारा र क्रान्तिकारीहरूका लागि दीर्घकालीन जनयुद्धसम्बन्धी माओको शिक्षा आज पनि महत्वपूर्ण नै छ ।

चीनको नयाँ जनवादी क्रान्तिका समयमा माओले कठिन र जटिल वर्गसङ्घर्षका निरन्तरताका क्रममा पार्टी, सर्वहारा वर्ग र जनताको नेतृत्व गर्दै एउटा अर्धसामन्ती, अर्धऔपनिवेशिक समाजको आर्थिक सामाजिक संरचनाको साङ्गोपाङ्गो विश्लेषण गरेर माक्र्सवादी राजनीतिक अर्थशास्त्रलाई समृद्ध गर्न, माक्र्सवादी सैन्यविज्ञानको विकास गर्न र नयाँ जनवादको अवधारणाद्वारा समाजवादलाई समृद्ध गर्नाका साथै सर्वहारावादी दर्शनलाई समृद्ध बनाए । अनि त्यसरी नै वाम तथा दक्षिणपन्थी उग्र भड्काव विरुद्ध निरन्तर सङ्घर्ष गर्दै चिनियाँ कम्युनिष्ट पार्टीलाई वैचारिक रूपले शक्तिशाली र अनुभवीले खारिएको बनाए । अनि १९४९ पछि महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिका बिन्दुसम्म उठाएर माक्र्सवादी दर्शनलाई अभूतपूर्व उँचाइमा उठाए । अन्तर्विरोधका नियमहरू विकास गर्दै उनले विपरीतहरूको एकत्व र सङ्घर्ष नै प्रकृति र समाजको सञ्चालक शक्ति हो, विपरीतहरूको एकता अस्थायी र सापेक्ष हुन्छ जब कि तिनका बीचको सङ्घर्ष स्थायी र निरपेक्ष हुन्छ जसले गुणात्मक छलाङ् र क्रान्तिकारी परिवर्तन निर्माण गर्छ । थुप्रै अन्तर्विरोधहरूमध्ये एउटा प्रधान हुन्छ जुन अरु सबै अन्तर्विरोधहरूको समाधानको केन्द्रिभूत कडी हुन्छ जसले इतिहासलाई गति प्रदान गर्छ भन्ने पुष्टि गरिदिए ।

व्यवहार सिद्धान्तको स्रोत हो । सिद्धान्त व्यवहारको सत्व हो । बोध र धारणा कच्चा सामग्री हुन् । अनि धारणा या बुद्धिसङ्गत ज्ञान इन्द्रियग्राह्य ज्ञानको संश्लिष्ट परिणाम हो । जनतामाथि अटूट, अचूक र निरपवाद विश्वास गर्ने क्रान्तिकारी जनदिशालाई माओले सन् १९२१ देखि १९७६ सम्म निरन्तर लागू गरे र सर्वहारावादी सांस्कृतिक क्रान्तिकालमा त्यसलाई नयाँ उचाइ प्रदान गरे । उनका भनाइमा जनता मात्र संसारको इतिहासका निर्माता हुन् । पार्टीको समग्र काममा जनताबाट लिएर जनतालाई नै फिर्ता दिने पद्धति नेतृत्वका लागि विकासित गरिदिए । जसको अर्थ हो जनताका छरिएका अव्यवस्थित विचारहरूलाई समेटेर निचोडमा तिनलाई सैद्धान्तीकरण गर्ने अनि त्यसै सिद्धान्तलाई जनताका बीचमा लाने, तिनको प्रचार गर्ने र उनीहरूलाई आफ्नै विचारका रूपमा ग्रहण गर्न प्रेरित गर्ने जसले गर्दा उनीहरूले त्यसलाई दृढतापूर्वक आत्मसात गर्नसकून् । उनका विचारमा त्यस्ता विचार जनतासमक्ष पुगेपछि शक्तिमा परिणत हुन्छन् । त्यसरी पदार्थ र चेतनाको द्वन्द्वात्मक अन्तर्सम्बन्धको मीमांसा गर्दै इतिहास निर्माणमा मानिसको जीवन्त भूमिकालाई स्पष्ट हुन्छ । सामान्यतः माओले सामाजिक प्रयोगका सन्दर्भमा विरोधीहरूको लगातार प्रतिरोध गर्नुप¥यो तर ख्रुश्चेभपन्थी संशोधनावादीहरूका आधुनिक संशोधनवादका विरुद्ध र अन्त्यमा ल्यु शाओची, देङ्शाओ पिङ् समूहको समकालीन संशोधनवादका विरुद्ध उनले प्रचण्ड सङ्घर्ष गरे । अनि नयाँ सर्वहारवादी सांस्कृतिक क्रान्तिको पूर्वपीठिका तयार गर्नमा महत्त्वपूर्ण भूमिका निर्बाह गरे । उनले संशोधनवादसँग लड्दै माक्र्सवादी—लेनिनवादी पार्टी गठनमा, नयाँ क्रान्तिकारी कम्युनिष्ट पार्टी गठनमा मार्गदर्शन गरे । अनि विश्वभरमा नयाँ क्रान्तिकारी कम्युनिष्ट पार्टीका ध्रुबीकरणको एउटा नयाँ प्रक्रिया सुरु गरे । त्यसले पछि सर्वहारवादी सांस्कृतिक क्रान्ति र संशोधनवादी ल्यु, देङ् मण्डलीका विरुद्ध निर्णायक सङ्घर्षदायी नयाँ संवेग प्रदान ग¥यो । ख्रुश्चेभ गिरोहका विरुद्ध महान् बहसको नेतृत्व गर्दै शान्तिपूर्ण सङ्क्रमणको ख्रुश्चेभी सिद्धान्त एउटा बुर्जुवा सिद्धान्त हो, क्रान्तिबारेको माक्र्सवादी सिद्धान्तको विकास होइन बरु निषेध हो । वास्तवमा ख्रुश्चेभ आधुनिक संशोधनवादी हतियार हो जसले विश्व मजदुर आन्दोलनका पीठमा छुरा धसेर साम्राज्यवादका सम्मुख आत्मसमर्पण गरेको थियो, अनि राष्ट्रिय मुक्ति आन्दालनलाई विसर्जन गरेको थियो । माओले सम्पूर्ण जनताको पार्टी र सम्पूर्ण जनताको राज्य भन्ने ख्रुश्चेभी सिद्धान्तको पर्दाफास गर्दै सोभियत सर्वहारा अधिनायकत्व बुर्जुवा अधिनायकत्वमा फेरियो भन्दै सप्रमाण विश्लेषण प्रस्तुत गरे । समाजवादी समाज निर्माणमा लामो ऐतिहासिक अवधि हुन्छ । समाजवादको त्यस पूर्ण अवधिमा वर्ग, वर्गसङ्घर्ष र वर्ग अन्तर्विरोध कायमै रहन्छ अनि समाजवादी बाटो र पुँजीवादी बाटाका बीच सङ्घर्ष जारी रहन्छ । त्यसबेला पनि पुँजीवाद पुनस्र्थापित हुने खतरा रहिरहन्छ । त्यसैले यस सङ्घर्षको दीर्घकालीन स्वरूप जारी राख्नुपर्छ । समाजवादी शिक्षा चालु राख्नुपर्छ र जनताका बीचको अन्तर्विरोध र दुश्मनका बीचको अन्तर्विरोधमा भेद देखाउँदै सही तरिकाले हल गर्नुपर्छ । अन्यथा समाजको पतन हुन्छ र पुँजीवाद पुनस्र्थापित हुन्छ । एकातिर उनले स्टालिनका महान् देनहरूको रक्षा गरे भने अर्कातिर उनका त्रुटिहरूलाई वस्तुपरक ढङ्गले समाहार पनि गरे । १९४९ मा समाजवादी क्रान्ति सम्पन्न हुनासाथ त्यसका दुई बाटालाई लिएर सर्वत्र बहस हुनथाल्यो । माओले त्यस सङ्घर्षको नेतृत्व गर्दै सोभियत सङ्घका अनुभवबाट फाइदा उठाए । त्यसलाई वर्गसङ्घर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवको द्वन्द्वात्मक सम्बन्धको एउटा विशिष्ट व्यावहारिक उदाहरण मान्नुपर्छ । उनले महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिका दर्शनको प्रतिपादन गरे जुन समाजवादी समाज, सर्वहार राज्य र पार्टीसम्बन्धी महत्त्वपूर्ण सूत्र निर्माण तथा त्यस दीर्घकालीन सङ्घर्षको कार्यदिशा, रणनीति र साझा रणकौशलसम्बन्धी प्रस्थापनाको समुच्चय हो । उनले लेनिनको सर्वहारावादी चिन्तनलाई सर्वहारावादी सांस्कृतिक उच्चबिन्दुसम्म विकसित गरे । समाजवादी राज्यमा श्रमिक वर्गको अधिनायकत्व कायम भएपछि सर्वहारावर्ग र चिनियाँ पुँजीपति वर्गका बीचको अन्तर्विरोध नै चिनियाँ समाजको प्रधान अन्तर्विरोध हो र सङ्घर्ष राज्यसत्तामा नै केन्द्रित हुन्छ भन्ने निष्कर्ष दिए । उत्पादन सम्बन्ध र उत्पादक शक्ति बीचको अन्तर्विरोध तथा अधिरचना र आर्थिक मूलाधारका बीचको अन्तर्विरोध समाजवादी समाजका दुई मूल अन्तर्विरोध हुन् । जसको निरन्तर समाधान पछि मात्र साम्यवादतिर अग्रसर हुन सकिन्छ । उत्पादक शक्तिका विकासमा रहेका अवरोधहरू भत्काउनका लागि उत्पादन सम्बन्धलाई फेर्नु प्रत्येक समाजवादी क्रान्तिको लक्ष्य हुनुपर्छ त्यही कुरा समाजवादी क्रान्तिको दीर्घकालीन सङ्क्रमणमा पनि लागू हुन्छ । समाजवादी क्रान्तिको लक्ष्य पुँजीवादी उत्पादन सम्बन्धहरूलाई नष्ट गरेर साम्यवादी सम्बन्धतर्फका सङ्क्रमणलाई सुनिश्चित गर्नु हो । समाजवादी क्रान्तिका दीर्घकालीन जटिल प्रक्रियामा उत्पादन सम्बन्धका तीन पक्ष— उत्पादन साधनहरूका स्वामित्वको प्रक्रिया, उत्पादनमा जनताको भूमिका र तिनको अन्तर वैयक्तिक सम्बन्ध तथा उत्पादनको वितरणका पद्धतिले आपसमा अन्तरक्रिया गर्दै क्रान्तिकारी रूपान्तरणका प्रक्रियाबाट हुँदै अघि बढ्छन् । यसलाई पुँजीवादी उत्पादन प्रणालीको निषेध मान्नुपर्छ । सम्पत्तिको सामूहीकरण पछि पनि पुँजीवादी चेतना विभिन्न रूपमा विद्यमान रहन सक्छ र त्यो विशेषतः राष्ट्रिय पुँजीपतिका रूपमा विकसित हुनसक्छ । सर्वहारा अधिनायकत्वको ऐतिहासिक भूमिका सम्पत्तिका रूपहरूलाई परिवर्तन गर्नु मात्र होइन बरु दीर्घकालीन रूपान्तरण गरेर साम्यवादी उत्पादन प्रणालीमा प्रवेश सुनिश्चित गर्नु हो । समाजवादी राजकीय स्वामित्व र समाजवादी सामूहिक स्वामित्वको विकासका अवधिमा सर्वहारा वर्ग र बुर्जुवा वर्गका बीच नेतृत्वका लागि सङ्घर्ष हुन्छ । त्यसमा न्यून परिमाणको सामाजिक स्वामित्व ठूलो परिमाणको सामूहिक स्वामित्वमा र त्यो सामाजिक स्वामित्व राजकीय स्वामित्वमा रूपान्तरण हुने जटिल प्रक्रियामा लगातार विकसित हुँदैजान्छ । सामूहिक स्वामित्वको आर्थिक ढाँचा सम्पूर्ण जनताको सम्पत्ति हुँदैन त्यसले उत्पादित सामानको विनिमय गर्छ जब कि राजकीय स्वामित्वको आर्थिक ढाँचा सम्पूर्ण जनताको सम्पत्ति हुन्छ र त्यसले वस्तुहरूको विनिमय गर्छ । त्यसबेला हरेकबाट उसका क्षमताअनुसार र हरेकलाई उसका आवश्यकताअनुसार भन्ने नियम लागू रहन्छ । त्यसो नभएसम्म तलबमा असमानतासहित अन्य कैयौं बुर्जुवा अधिकार विद्यमान रहन्छन् । अनि हामीले सही दिशा र सही नीति पालन गर्ने काम मात्र गर्नुहुँदैन बरु दशौं लाख त्यस्ता प्रशिक्षित उत्तराधिकारी पनि तयार गर्नुपर्छ जसले सर्वहारा क्रान्तिका लागि समर्पित भएर काम गरून् । लेनिका भनाइमा त्यही व्यक्ति एक मात्र माक्र्सवादी हो जसले वर्गसङ्घर्षको सिद्धान्तलाई सर्वहारा अधिनायकत्वको सिद्धान्तसम्म विस्तार गर्छ ।

यसबाट के स्पष्ट हुन्छ भने माक्र्स र लेनिनले झैं माओले पनि माक्र्सवाद र द्वन्द्वात्मक भौतिकवादका विकासमा महत्त्वपूर्ण योगदान गरेका छन् । समग्रमा आजको माक्र्सवाद माओवादका समायोजनबिना अधुरो अपुरो रहन्छ । माओवादको सही अवलम्बनबिना आधुनिककालीन सर्वहारा क्रान्ति सफल हुन सक्दैन । त्यसमा विकास गर्न सकिन्छ परन्तु त्यसलाई हटाएर क्रान्तिको परिकल्पना भ्रम मात्र हुन्छ । विकास जीवन्त विधि, सिद्धान्त वा प्रक्रियाको अनिवार्य आवश्यकता हो । माओवादभन्दा एक चरण अघि बढेर मालेमावादमा थप विकासद्वारा क्रान्तिको नयाँ चरण र मान्यता स्थापित गर्नु वर्तमानमा निष्ठावान् कम्युनिष्टहरूको कार्यभार हो । त्यसको दायित्व बहन गर्न दूरदृष्टिवान् नेतृत्वको आवश्यकता नेपालमा अपरिहार्य भएको गत २० वर्षका अवधिलाई केलाउँदा स्पष्ट बुझ्नसकिन्छ ।

प्रतिक्रियाहरु