मजदुरको सपना साकार पार्न वैज्ञानिक समाजवाद अनिवार्य

२०७८ बैशाख १९ गते, आईतवार

वैशाख १८ गते शनिबार अर्थात् मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस औपचारिकरुपमा सम्पन्न भएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको थियो भने सन् १८८६ मा अमेरिकाको एक राज्यमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइने गरिन्छ । नेपालको सन्दर्भमा विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै मे दिवस मनाउन थालिएको हो । तर, यस वर्ष कोरोना संक्रमणका कारण मे दिवसको कार्यक्रमहरु औपचारिकतामा मात्र सीमित भएका छन् ।

मे दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको पनि १३२ वर्ष पुगिसकेको छ । तर, पनि नेपाललगायत कैयौँ देशका मजदुरको हालत दिनप्रतिदिन कष्टकर बन्दै गइरहेका छन् । नेपालमा मजदुरहरुको स्थिति नाजुक हुनुमा समग्र राज्यव्यवस्था र शासन प्रणाली नै मुख्य दोषी छ । जबसम्म देशमा जनचाहनाअनुसारको राज्य व्यवस्था र शासन प्रणाली लागू हुँदैन, तबसम्म मजदुरहरुको जीवनस्तर सुध्रन सक्दैन । अर्थात् मजदुरहरुको आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको सपना, सपनामै सीमित रहन्छ । तसर्थ, मजदुरहरुको जीवनस्तर उकास्न र उनीहरुको सपना साकार पार्न नेपाल कम्युनिस्ट पार्टीले भनेजस्तो देशमा जनचाहनाअनुरुपको राज्य व्यवस्था र शासन प्रणाली हुनुपर्छ । वर्तमान संसदीय व्यवस्था र शासन प्रणालीबाट देश, जनता र मजदुरलगायत तमाम तह र तप्काको मुक्ति सम्भव छैन भन्ने कुराको पुष्टि वर्तमान संसदीय व्यवस्था, शासन प्रणाली र राजनीतिक घटनाक्रमले गरिरहेका छन् ।

त्यसकारण देश, जनता र मजदुरको मुक्तिको लागि नेपाल कम्युनिस्ट पार्टीले भनेजस्तो वैज्ञानिक समाजवाद निर्विकल्प भएको छ । वैज्ञानिक समाजवाद प्राप्तिका लागि मजदुरलगायत सम्पूर्ण तह र तप्काका जनताहरुले नेकपालाई साथ र सहयोग गरेमा देश, जनता, मजदुरलगायत सम्पूर्ण तह र तप्काका जनताको मुक्ति टाढा छैन । वर्तमान संसदीय व्यवस्थाबाट देश, जनता र मजदुरले मुक्ति आश गर्नु भनेको आकाशको फल झर्ला र खाउँला भनेजस्तै हो । तसर्थ, देश, जनता र सम्पूर्ण मजदुरहरुको मुक्तिको लागि एक पटक नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमा गोलबद्ध हुँदै वैज्ञानिक समाजवाद स्थापनाको लागि पहल गरौँ । यो नै मे दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस एवं सम्पूर्ण मजदुरको सपना साकार पार्ने उत्तम विकल्प हो, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु