‘ मजदुरहरूले श्रमसँगै विद्रोह र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्दछ’

२०७८ बैशाख १८ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्ने बताएका छन। महासचिव विप्लवले १३२ औँ श्रमिक दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन्। महासचिव विप्लवले उन्नत मानवजीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्यता र अधिकार रहेको समेत बताएका छन् । श्रमिक दिवसका अवसरमा महासचिव विप्लवद्वारा शनिबार जारी वक्तव्यमा श्रमिकहरू केवल उत्पादनका औजार नभएर समृद्धिका स्रोत रहेको र जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नैपर्ने उल्लेख गरेका छन् ।
महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘आज आफ्नो अमूल्य श्रमद्वारा संसारलाई आधुनिक सभ्यता प्रदान गर्ने श्रमिक वर्गको गौरवपूर्ण श्रमिक दिवस १ मई हो । सर्वप्रथम यस सुखद अवसरमा संसारभरका श्रमिक वर्गप्रति हार्दिक शुभकामना प्रकट गर्दछौँ । श्रमिक वर्गको सारा उत्पादनलाई राज्यको बल प्रयोग गरेर आफ्नो खल्तीमा भर्ने पुँजीवादी लुटका विरुद्ध बलिदानीपूर्ण विद्रोह गरेर मात्र आजका श्रमिकहरूले मानवजीवन जिउने अवसर प्राप्त गरेका हुन् । परन्तु आज पनि संसारमा विशेषगरी नेपालजस्ता देशमा श्रमिक वर्गको जीवन आधारभूत आवश्यकता गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता समस्याहरूको चाङभित्र छट्पटाइरहेको छ । एकाधिकारवादी निगम पुँजीवादी एवम् दलाल पुँजीवादीहरूले असीमित शोषण गरिरहेका छन् ।’

महासचिवको वक्तव्यमा अगाडि भनिएको छ, ‘उन्नत मानवजीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्यता र अधिकार हुन् । श्रमिकहरू केवल उत्पादनका औजार होइनन्, समृद्धिका स्रोत हुन् । जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्दछ । नेपाल ऐतिहासिक रूपान्तरणको सम्भावनाबाट अघि बढिरहेको छ । यहाँको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमा पनि असफल भइरहेको छ तर यसले आफ्नो सङ्कट टार्न साम्राज्यवादी शक्तिहरूको निर्देशनमा अनेकौँ जालझेल गर्दैछ । नेपालका मजदुर, किसान र आमश्रमिकहरूले बुझ्नैपर्छ– आवश्यकता आमूल परिवर्तन र वैज्ञानिक समाजवादको छ । यसका लागि हाम्रो पार्टीले संसदीय सरकारको ठाउँमा आम प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्टहरूको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार र दलाल पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको छ ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘विश्वभर पैदा भएको पुँजीवादी सङ्कटले साबित गर्छ– मानव जातिको उन्नत जीवनका लागि वैज्ञानिक समाजवादबाहेक अर्को कुनै विकल्प छैन । नेपालमा यसको उचित परिस्थिति बनेको छ । सारा मजदुर किसान एवम् श्रमिक साथीहरू आउनुस्, राष्ट्र परिवर्तन गर्ने यो ऐतिहासिक जिम्मेवारी बहन गर्न क्रान्तिकारी पूर्वजहरूको पदचापमा एकताबद्ध भएर निर्भीकतापूर्वक अगाडि बढौँ । श्रमिक वर्गको संसारलाई कसैले रोक्न सक्नेछैन ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु