अमेरिकाद्वारा रुसमाथि प्रतिबन्ध !

२०७८ बैशाख ३ गते, शुक्रबार

काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर हमलासँगै अन्य शत्रूतापूर्ण कार्य गरेको आरोपमा अमेरिकाले रुसमाथि प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्धको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । मंगलबार मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपतिबीच वार्ता भएको थियो ।
ह्वाइटहाउसले रुसको हानिकारक वैदेशिक गतिविधिहरू रोक्न प्रतिबन्ध लगाएको जनाएको छ । अमेरिकाले सोलारविन्डस् ह्याकिङ, सन् २०२० को राष्ट्रपतीय निर्वाचनलगायतमा रुसी जासुस संलग्न रहेको अर्को आरोप पनि लगाएको छ ।
अमेरिकाले चालेको यो कदमले विश्वका दुई शक्ति राष्ट्रबीचको सम्बन्ध थप तनावपूर्ण दिशातर्फ अघि बढेको छ । बीबीसीले अमेरिकाको प्रतिबन्धसँगै दर्जनौँ रुसी संस्था तथा अधिकारी यसको निशानामा परेको जनाएको छ ।
रुसले भने आफ्नो देशमाथि अमेरिकाले लगाएको आरोप अस्वीकार गरेको छ । साथै उसले त्यसको प्रतिउत्तर दिने पनि बताएको छ । तर त्यसको बदला कसरी लिँदैछ भन्नेबारे भने केही संकेत गरेको छैन ।
रुसी विदेश मन्त्रालयले भनेको छ– अमेरिकाको यो कदम खतरनाकतवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण काम हो । युरोपेली संघ, नेटो र युके अमेरिकाको पक्षाम खुलेका छन् । उनीहरूले प्रतिबन्धको समर्थनमा वक्तव्य नै जारी गरेका छन् ।

प्रतिक्रियाहरु