नेकपा मकवानपुरद्वारा प्राकृतिक श्रोत साधनमाथिको दोहन बन्द गर्न आह्वान

२०७८ बैशाख ३ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाका विभिन्न क्षेत्रमा भइरहेका विकृति, विसङ्गती र प्राकृतिक स्रोतसाधन माथिको दोहन रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । नेकपा मकवानपुरका सेक्रेटरी उदिपले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाजमा बढिरहेको भ्रष्टाचार, कालोबजारी, महंगी, घुसखोरी, कमिसन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अवैध रुपमा गरिएको प्राकृतिक स्रोतसाधन माथिको दोहन, गिट्टी बालुवा उत्खनन् लगायतका कार्यहरु तत्काल बन्द गरी जनतालाई दुःख नदिन भनेका छन् । साथै विज्ञप्तिमा निजी स्वार्थलाई पूरा गर्न विभिन्न किसिमका विकृति, विसंगती फैलाउँदै समाजलाई अधोगतितिर धकेल्ने कार्यमा केही दलाल पुँजीवादी सोच भएका तत्वहरू सक्रिय रहेको हुँदा त्यसबाट सचेत भई समयमै पार्टीलाई जानकारी गराउन आम मकवानपुरबासीलाई अनुरोध समेत गरेका छन् । विज्ञप्तिमा भ्रस्ट्राचार, कालोबजारी, महंगीका साथै अवैध रुपमा गरिएको प्राकृतिक स्रोतसाधन माथिको दोहन तत्काल रोक्न आग्रह गरिएको छ ।
यासौबिच ,नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको १६ औँ पूर्ण बैठक बिहीबार हेटौँडामा बसेको छ । नारायणी व्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्यता, व्युरो सदस्य प्रेमको विशेष आतिथ्यता र अन्य अतिथिहरुको उपस्थितिमा बैठक बसेको हो । बैठकमा सबै जिल्ला समिति सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट राखेका थिए भने जिल्ला इन्चार्ज वाटरले रिपोर्टको जवाफसहित पार्टीको नीति सम्प्रेषण गरेका थिए । साथै नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच वार्ता भए पश्चात विकसित भएको परिस्थिति लगायतका विषयमा उनले स्पष्ट पारेका थिए ।
त्यस्तैगरी वैशाख १५ देखि १७ गतेसम्म हुन लागेको दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन सफल पार्न कार्य विभाजन गरी पार्टीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न समेत अनुरोध गरेका छन् । यसरी जिल्ला सेक्रेटरी सुर्य अर्यालको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णयका साथ समापन भएको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु