समाजवादी शिक्षाका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य !

२०७७ चैत्र ३१ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली र नीति निर्माण तथा लागू गर्नका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य रहेको बताएका छन् ।
अखिल (क्रान्तिकारी) गोरखाको २३ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले अहिलेको राज्य व्यवस्थाले निर्माण गरेको शिक्षा नीतिले विद्यालय बेरोजगार व्यक्ति उत्पादन गर्ने कारखाना बनेको बताए । उनले व्यवहारिक, रोजगार मुलक, वैज्ञानिक समाजवादी शिक्षा प्रणालीका लागि संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्ने बताए । उनले अहिलेको दलाल संसदीय व्यवस्थाले युवा तथा विद्यार्थीहरूलाई प्रयोग मात्रै गरिराखेकोले गलत तरिकाले प्रयोग नहुन र त्यसका विरुद्ध उठ्न सम्पूर्ण विद्यार्थीलाई आग्रग गरे । नेता बास्तोलाले विद्यार्थी अहिले तारा र भविष्यको सूर्य भएको बताउँदै विद्यार्थी राजनीतिमा आउनु पर्ने बताए ।
त्यसैगरि सम्मेलनलाई सम्बोधन गर्दै नेकपा गण्डक व्युरो इन्चार्ज उमा भुजेलले देश तथा विश्वमा हालसम्म भएका सबै परिवर्तनमा सबै भन्दा ठूलो भुमिका विद्यार्थीको रहेको हुनाले यो असफल भइसकेको संसदीय व्यवस्था परिवर्तन गरि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन पनि युवा विद्यार्थीहरूले नै नेतृत्व लिनुपर्ने बताईन् । उनले अहिले युवा विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा बढनुका साथै राजनैतिक चेतनामा कमि आएको भन्दै भविष्यमा देशको नेतृत्व कसले गर्ला भन्नेबारे चिन्तासमेत व्यक्त गरिन् ।
सम्मेलनमा शुभकामना मन्तव्य राख्दै नेकपाका संयोजक ऋषि राम कट्टेलले ४० वर्ष देखिको अव्यवहारिक शिक्षा नीति परिवर्तन गरि व्यवहारिक शिक्षा प्रणाली र नीति लागू गर्न सबै विद्यार्थी एकजुट हुन आग्रह गरे । साथै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले अहिलेको शिक्षा नीति र प्रणालीले देशमा बेरोजगार बढ्दै जाने र देश विकासको गतिमा भन्दा अधोगतिमा जाने बताए । त्यसैले देश विकासका लागि व्यवहारिक र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली र नीति लागू गर्नुपर्ने बताए । उनले शिक्षामा निजीकरण र व्यापारिकण बढेको भन्दै त्यसको अन्त्यका लागि सम्पूर्ण विद्यार्थी एकजुट भएर आवाज उठाउन जरुरी भएको बताए ।
यसैबीच सोमबार सम्पन्न भएको अखिल (क्रान्तिकारी) गोरखा जिल्ला समितिको २२ औँ जिल्ला सम्मेलनले गगन परियार ‘असल’ को अध्यक्षतामा २३ सदस्यीय जिल्ला समितिसमेत चयन गरेको छ । गोरखाको हरमटारीमा भएको अखिल (क्रान्तिकारी) को २२ औँ जिल्ला सम्मेलनले उपाध्यक्षमा दिनेश बोहरा, सचिवमा रोज खिम गुरुङ, सह-सचिवमा अनिसा देवकोटा र कोषाध्यक्षमा सबिना परियारलाई चयन गरेको छ ।

सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रमुख अतिथि रहनु भएको थियो भने नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेल, नेकपा गण्डक व्युरो इन्चार्ज उमा भुजेल शिलु, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, नेकपा गोरखा इन्चार्ज कपिल भट्ट, नेकपा मनाङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, नेकपा गोरखा सेक्रेटरी सरल, अखिल (क्रान्तिकारी) गण्डक व्युरो संयोजक अटल शर्मा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ गण्डक व्युरो संयोजक माया चेपाङ, किसान महासङ्घका केन्द्रीय सदस्य विष्णुप्रसाद रिजाल, दलित मोर्चाका जिल्ला संयोजक चिनकाजी रसाइली, युवा सङ्गठन नेपाल गोरखाका अध्यक्ष डम्बर चेपाङ, महिला सङ्घ गोरखाकी अध्यक्ष निता चेपाङ, अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष पुरन पुन, शिक्षक संगठनका केन्द्रीय सचिव विरबहादुर गुरुङ, शिक्षक संगठनका गोरखा संयोजक बेलबहादुर गुरुङ र नेकपा गोरखा जिल्लाका सल्लाहकार देवेन्द्र भण्डारी अतिथि रहेका थिए ।

जिल्ला सम्मेलन आयोजक समितिका संयोजक गगन परियारको अध्यक्षतामा दिनेश बोहराले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु