अखिल (क्रान्तिकारी) रूपन्देहीको अध्यक्षमा इन्दु ओली

२०७७ चैत्र ३० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) रूपन्देहीको २४ औँ जिल्ला सम्मेलनले इन्दु ओलीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पारस राहादी मगर, सचिवमा पदम पराजुली, सह–सचिवमा पवन ज्ञवाली, कोषध्यक्षमा साया सापकोटा निर्वाचित भएका छन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इन्चार्ज तथा अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय अध्यक्ष प्रवीणले देशको राजनीति र राज्यव्यवस्था खराब भएका कारण नेपालको शिक्षा प्रणाली २ खण्डमा विभाजित भएको बताए । उनले भने, ‘वर्तमान निजी, दलाली, अव्यवहारिक, अवैज्ञानिक शिक्षा ग्रहण गर्नुको कुनै औचित्य नभएकाले यसको अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षा स्थापना गर्छौँ । नेपालको राजनीतिक विद्यार्थी आन्दोलनमा सहादत भएका सहिदहरूको सुन्दर सपना पूरा गर्न सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।’
सम्मेलनका प्रमुख अतिथि प्रविणले वर्तमान दलाल, पुँजीवादी संसदीय व्यवस्थाले विद्यालय तथा कलेजहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूले राजनीति गर्नुहुँदैन भन्ने मानसिकता विकास गरेकाले त्यो झुट भएको र त्यस्ता भ्रमलाई चिर्दै अखिल (क्रान्तिकारी) मा सङ्गठित भई एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन अपिल समेत गरेका थिए । उनले वर्तमान संसदीय व्यवस्था राष्ट्रघाती, जनघाती, भ्रष्ट्रचारी भएकाले जनमत सङ्ग्रहद्वारा व्यवस्था बदल्ने अधिकार जनतालाई दिनुपर्ने बताए । अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माले अखिल (क्रान्तिकारी) ले शैक्षिक क्षेत्रमा देखिएको दलालीकरण, माफियाकरण, नीजिकरण, राष्ट्रिय स्वाधीनता र जनजीविकाको पक्षमा आवाज उठाउँदै आएकाले शैक्षिक दलालहरूमा आतङ्क सिजर्ना भएको बताए । उनले दलालहरूको भ्रममा नपरी सङ्गठनमा सङ्गठित हुन सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई आह्वान् समेत गरे ।

कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास, अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विक, युवा सङ्गठन नेपाल लुम्बिनी व्युरो इन्चार्ज विश्लेषण, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय महासचिव खोमा तरामु मगर, अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगर, अखिल नेपाल शिक्षक सङ्गठनका रूपन्देही जिल्ला अध्यक्ष रेशम चालिसे, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका योगेन्द्र यादव, युवा सङ्गठन नेपालका रूपन्देही जिल्ला अध्यक्ष सन्तोष, नेकपाकी नेतृ वर्षा, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका रूपन्देही अध्यक्ष बिहानी मगर, क्षितिज सांस्कृतिक परिवार लुम्बिनी व्युरो सह-संयोजक आत्मा, अखिल (क्रान्तिकारी) कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु राउत, जनपक्षीय अनलाइन मिडिया जनबाटो डटकमका संवाददाता प्रदीप राहादी मगर, एन.बी शाही, गोपाल रोका लगायतको उपस्थिति थियो । उनीहरूले विगतको राजनीतिक विद्यार्थी आन्दोलनमा नेतृत्वले धोका दिएपछि सहिदहरूको सपना अधुँरो रहेको बताएका थिए ।

नवनिर्वाचित जिल्ला अध्यक्ष इन्दु ओलीले नयाँ कार्ययोजना तयार गरेर सङ्गठनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रदीप राहादीमगर, पवन ज्ञवाली, दिपिका थापा, सुनिल नेपाली लगायतले वैज्ञानिक समाजवाद, जनजीविका र राष्ट्रियताको पक्षमा रचित गीत, कविता, गजल वाचन गरेका थिए भने क्षितिज सांस्कृतिक परिवार लुम्बिनी व्युरोले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो । सम्मेलनमा विभिन्न विद्यालयका विद्यार्थीको उपस्थिति रहेको थियो । पारस राहादीमगरको सञ्चालन रहेको कार्यक्रमको अध्यक्षता इन्दु ओली र स्वागत मन्तव्य पदम पराजुलीले राखेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु