३१औं जनआन्दोलन दिवस ‘चैत्र २४’ स्मरण र विमर्श कार्यक्रमबारे केही कुरा
ऐतिहासिक जन आन्दोलनको उत्कर्ष चैत्र २४ लाई ३१औं जनआन्दोलन दिवसको रुपमा स्मरण गर्दै यही २०७७ चैत्र २४ गते पुष्पलाल अध्ययन समाजको आयोजनामा काठमाडौंको बालुवाटारस्थित नेपाल हाउसमा ६ दर्जनजती देसका सबैजसो पक्षका प्रतिष्ठित व्यक्तित्वहरुको सकृय सहभागितामा एक विमर्श कार्यक्रमका रुपमा जनआन्दोलन दिवस चैत्र २४ मनाइयो ! निरंकुस राजतन्त्र र निर्दलीय पंचायती तानाशाही व्यवस्थाविरोधी देसका सबैजसो राजनीतिक शक्तिहरु, संघसंस्था र संगठनहरु तथा स्वतन्त्र नागरिकहरुद्वारा २०४६ को ऐतिहासिक जन आन्दोलन प्रहारको निशाना विन्दु एक तर आक्रमणकारी मोर्चा अनेक´ को नीति लिएर सहमतीय, संयुक्त र स्वतन्त्र भएर पनि सशक्त रुपमा गरिएको सम्पन्न भएको थियो ! नेपाली काङ्ग्रेस, संयुक्त वाममोर्चा (७ वामपन्थी दलहरुको सुधारवादी मोर्चा ) र संयुक्त राष्ट्रिय जनआन्दोलन ( ४ कम्युनिस्ट पार्टी र केही व्यक्तित्वहरुको क्रान्तिकारी मोर्चा) जस्ता शक्ति र मोर्चाहरुको सहमतिमा सो आन्दोलन भएको थियो । त्यसै आन्दोलनका क्रममा कम्युनिस्ट क्रान्तिकारीहरुको मोर्चा
संयुक्त राष्ट्रिय जन आन्दोलन´को आयोजनामा चैत्र २४ गते नेपाल बन्दको आह्वान गरियो र त्यो दिनमा भएको बन्द, जुलुस, नारा, सहादत, वीरता आदि सबै ऐतिहासिक रुपले उच्च र उल्लेखनीय भए ! यसै प्रदर्शनले नै निरंकुश राजतन्त्रलाई संवैधानिक राजतन्त्रको रुपमा र निर्दलीय पंचायती व्यवस्थालाई बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको रुपमा अवलम्बन गर्नैपर्ने बाध्यात्मक अवस्थामा नेपाली तानाशाही शासकहरुलाई पुराएको थियो । फलस्वरुप २ दिनपछी चैत्र २६ गतेनै संझौता गर्न शासकहरु बाध्य भएका थिए र २०१७ सालमा अपहरित बहुदलीय संसदीय व्यवस्थाको पुनर्प्राप्ति भएको थियो !
स्मरणीय छ कि टुला भनिएका दल काङ्ग्रेस र ७ दल सम्मिलित वममोर्चाले आह्वान गरेका अन्य अघिल्ला कार्यक्रमहरुभन्दा ४ साना दलहरु मिलेर बनेको एउटा क्रान्तिकारी मोर्चाको आयोजना र आह्वानमा चैत्र २४ नै त्यसरी लाखौंको संख्यामा ज्यानको बाजि लगाएर किन जनता आन्दोलनमा उतृए ? स्पष्ट कुरा के हो भने त्यो मोर्चाले नेका र वाम मोर्चाले जस्तै पुरानै अपहरित संसदीय बहुदलीय व्यवस्थाको माग नगरेर नयाँ जनवादी गणतन्त्रात्मक सच्चा कम्युनिस्ट शासन व्यवस्थाको माग गरेको थियो ! त्यसैले त त्यसदिन “राजतन्त्र मुर्दावाद” र “नौलो जनवाद जिन्दावाद” भन्दै राजा वीरेन्द्र बस्ने नारायणहिटी राजदरबारतिर विशाल जुलुस अघि बढिरहेको थियो र २०१७ सालमा फौजी कू गर्ने तत्कालीन राजा महेन्द्रको दरबारमार्ग स्थित सालिकलाई तोडिरहेको थियो ! त्यसक्रममा सुरक्षाकर्मीहरुद्वारा लगातार गोली बर्साउँदा एकपछी अर्को गर्दै आधा दर्जन जति आन्दोलनकर्मीहरुको त्यहीं नै सहादत भएको थियो ! तर विडम्बना के भयो भने जनताको राजतन्त्रविरोधी त्यो चेतना, आन्दोलनको नयाँ जनादी गणतन्त्रको माग र आन्दोलनकारीहरुको त्यो वीरता र बलिदानलाई दुत्कार्दै नेपाली काङ्ग्रेस र वाममोर्चाका नेताहरुले राजा र पंचे शासकहरुसँग “संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय व्यवस्था अवलम्बन गर्ने” गरी चैत्र २६ गते रातारात सम्झौता गरे ! यसरी गणतान्त्रिक क्रान्ति र मुक्तिप्रति धोका, विश्वासघात र गद्दारी भयो !तत्कालै यो कुराको विरोध गर्दै नेकपा तत्कालीन नेकपा मशालका तर्फबाट ऐतिहासिक रातो पर्चा प्रकासन गरी वितरण गरियो । यसरी सम्झौता धोका भएको र यो बहुदलीय व्यवस्था पुँजीवादी व्यवस्था भएको र सारमा साम्राज्यवादी विश्वव्यवस्थाकै अङ्ग भएको भन्दै तीव्र विरोध र भण्डाफोर गरियो ! चैत्र २४ गतेको बन्द कार्यक्रमको आयोजक मोर्चा संयुक्त राष्ट्रिय जन आन्दोलनले यसै स्पिरिटमा विरोध गर्दै रोष प्रकट गर्यो ! तर दुखको कुरा देसी-विदेसी प्रतिक्रियावादी गोटीहरुले यो कुराको सुनुवाइ गरेनन् ! सुनुवाइ नगरेको मात्र होइन, उल्टै यो विरोधलाई ” बहुदलीय व्यवस्थालाई साम्राज्यवादी बहुदल भनेको” भन्दै मशाल लगायत क्रान्तिकारी शक्ति र व्यक्तिहरुलाई खिसिट्युरी र निन्दा गर्न थाले ।
तर केही बर्षको अन्तरालमै पुन: देस र जनताको दुर्गती बढ्दै गएकोले एकातिर माओवादी जनयुद्धद्वारा राजतन्त्र र संसदीय व्यवस्थाको उन्मूलनको लागि भीषण प्रयास भयो भने अर्कातिर माओवादी र जनयुद्धलाई दवाउने नाममा राजा ज्ञानेन्द्रले संसद् र सरकार विघटन गरी सम्पूर्ण राज्यसत्ता हातमा लिएर प्रत्यक्ष शासन लादे !परिणामत: अन्तमा केही बर्षपछी त काङ्ग्रेस-एमाले लगायतका सबै संसदवादी-सुधारवादी शक्तिहरु समेत राजतन्त्रविरोधी गणतान्त्रिक आन्दोलन गर्न बाध्य भएर नै ०६२/६३ को दोस्रो जन आन्दोलन भयो र राजतन्त्र फालियो !
विडम्बना फेरि पनि उहीँ पुरानै पुँजीवादी-साम्राज्यवादी बहुदलीय संसदीय व्यवस्थालाई सुधारिएको पंचायत व्यवस्था भनेझैं सुधारिएको समावेसी संघीय लोकतान्त्रिक गणतन्त्रको नाम दिएर संविधानमार्फत पुनर्स्थापित गरियो र नयाँ जनवादी गणतन्त्रलाई फेरिपनि निषेध गरी देस, जनता र क्रान्तिलाई पुन: धोका भयो ! यो कुराको कमरेड किरण नेतृत्वको तत्कालीन नेकपा-माओवादीले तत्कालै तीव्र र सशक्त विरोध गर्दै अब जनयुद्धको जगमा जनविद्रोहद्वारा नयाँजनवादी क्रान्ती सम्पन्न गरी जनगणतन्त्र स्थापना गरेर बैज्ञानिक समाजवादको मार्गमा अघि बढ्ने घोषणा गर्यो भने अन्य जनजाति र मधेसी समुदाय सम्बद्ध शक्ति र संघसंस्थाहरुले पनि धेरै- थोरै विरोध गरे !
जे होस् यो सबै कुरा सार, संक्षेप, संकेत र समग्रमा कार्यक्रमका सहभागी टङ्क कार्की र सीपी मैनाली बाहेक सबैजसोले स्वीकार्दै चैत्र २४ को मूल मर्म, भावना र योगदानलाई यसैअनुसार स्मरण र आत्मसातीकरण गर्दै कार्यान्वयन गर्ने प्रण-प्रतिज्ञा गरियो !
कार्कीजीको विचार आयो कि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नै सर्वाधिक राम्रो व्यवस्था भएकोले यसको विकल्प खोज्ने चर्का क्रान्तिकारी कुरा गर्नु केटौले कुरा हुन्छ !
त्यस्तै मैनालीजीको विचारमा गणतन्त्र भनेर आन्दोलन गरेका नेता र गरिएका र गरिने आन्दोलन स्वतन्त्र, इमान्दार र देसभक्तिपूर्ण नदेखिएकाले गणतान्त्रिक आन्दोलन गर्नु गलत हो, हुन्छ र हुनेछ ! कम्युनिस्ट पार्टीको सदस्य हुनुको नाताले उहाँहरुले कम्युनिस्ट आन्दोलनलाई यस्तो यथास्थितिवादी र राजतन्त्रवादी धारमा सिमित गर्न खोज्ने सोंच र संस्कार सहभागी सबैजसोलाई विचित्रको लाग्यो, जो स्वाभाविक नै हो । जे होस्, तत्कालीन जन आन्दोलन परिचालन कमिटीका एक जिम्मेवार देसभक्त वामपन्थी नेता लीलामणि पोख्रेल, कपिल श्रेष्ठलगायत बौद्धिक व्यक्तित्वहरुको गहन समीक्षा र सुझावहरु र सबैजसो वक्ता महानुभावहरुले कार्यक्रम सान्दर्भिक, औचित्यपूर्ण र महत्वपूर्ण रहेको भन्दै वर्तमानको राजनीतिक संकटको समाधानका निम्ति विगतमा जस्तो संयुक्त र सशक्त जन आन्दोलन आज झन् जरुरी भएको भन्ने मन्तव्यहरुको निष्कर्षमा व्यक्त मूल स्पिरिटमा ऐक्यभाव प्रकट गरेकै प्रतीत भयो, जो कार्यक्रमको ठूलो सफलता थियो ।
कार्यक्रमको सफलतासँगै कार्यक्रमका प्रस्तावक र पहलकर्ताका नाताले र आयोजक पुष्पलाल अध्ययन समाजको उपाध्यक्ष तथा संयुक्त राष्ट्रिय जनआन्दोलनको मुख्य घटक तत्कालीन नेकपा मशालको एक जिम्मेवार सदस्यको हैसियतले विषयवस्तु प्रस्तुत गर्न पाएको हिसाबले म स्वयंलाई केही बढी नै संतोष र प्रेरणा मिल्यो । आयोजक संस्था पुष्पलाल अध्ययन समाज र यसका अध्यक्ष लोककृष्ण भट्टराई, स्वागतकर्ता सकृय महिला सदस्य किरण मोक्तान, उपाध्यक्ष एवं वाममोर्चाका तर्फबाट विषय प्रस्तोता बोर्णबहादुर कार्की, सचिव संचालक निलकण्ठ तिवारी, उपाध्यक्ष धन्यवाद दाता एवं कार्यक्रमका समीक्षक हस्तबहादुर केसी र सचिव कार्यक्रमका संयोजनकर्ता भरत गौतम लगायत कार्यक्रममा उपस्थित पुष्पलाल अध्ययन समाजका नेतृत्वका अन्य वरिष्ठ पदाधिकारीहरु लगायत सबैले कार्यक्रम सान्दर्भिक र सफल भएकोमा हर्ष र सुखको अनुभूती गरियो ! यति मात्र होइन, पुन: तेस्रो र अन्तिम निर्णायक जन आन्दोलनको आयोजना, संगठन र संयोजन गर्नुपर्ने जिम्मेवारी फेरिपनी जन आन्दोलनको कार्यनीतिका प्रणेता र नयाँ जनवादी क्रान्तिका रणनीतिकार कमरेड माओका सच्चा उत्तराधिकारी कामरेड पुष्पलालका अनुयायी हुनुका नाताले पनि हामीमाथि नै यो जिम्मेवारी आइलागेको हो भने त्यो बोध र बहन गर्न तयार रहनुपर्ने समेत महसुस गरियो ! आगे अगुवाहरुको कर्तब्यपरायणता र जनताको खबर्दारी भया !