ट्राफिक जरिवाना माेबाइलबाटै भुक्तानी गर्न सकिने

२०७७ चैत्र २८ गते, शनिबार


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले शुक्रबार फोन पे प्रालि र नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खातामार्फत सीधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो । यसअघि नै शुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुर्‍याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरुसँग सम्झौता गर्दै आएको छ ।
सम्झौता पत्रमा महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराई, फोन पेको तर्फबाट दिवसकुमार सापकोटा र नेपाल क्लियरिङ हाउस (कनेक्ट आईपीएस)को तर्फबाट मुन्नी राजभण्डारीले हस्ताक्षर गरे ।
अब सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सीधै ट्राफिक जरिवाना भुक्तानी गर्न सक्ने एसएसपी भट्टराईले बताए ।
ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भई रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत भुक्तान हुने गरी प्रणाली विकास गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु