अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन बुटवलको अध्यक्षमा खगेन्द्र पौडेल

२०७७ चैत्र २४ गते, मंगलवार


काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन बुटवलको छैठौं जिल्ला सम्मेलनन सम्पन्न भएको छ। सो सम्मेलनले खगेन्द्र पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा प्रदेशी मल्लाह, सचिवमा प्रेम बि.सी., सह–सचिवमा लालबहादुर सुनार र कोषध्यक्षमा सुशिला रूचाल निर्वाचित भएका छन् । सो सम्मेलनलाई सबोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीको लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज ध्रुवले वर्तमान संसदीय व्यवस्थाबाट मजदुरहरूको मुक्ति सम्भव नभएको ठोकुवा गर्दै मजदुर संगठनका सबै घटकहरूलाई एकताबद्ध गरेर मजदुरहरूको आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताए । उनले जबस मोर्चाका सबै सदस्यहरूलाई वैचारिक तथा राजनीतिक स्तरलाई माथि उठाउँदै संगठन विस्तारलाई व्यापक बनाउने बताए । उनले भने, ‘संसदीय व्यवस्था राष्ट्रघाती, जनघाती, भ्रष्टाचारी र मजदुरहरूको हित नगर्ने व्यवस्था हो । भूमिमाथिको अधिकार किसान र मजदुरहरूको हुनुपर्छ । वर्तमान संसदीय व्यवस्था पतन भइसक्यो, सम्पूर्ण मजदुरको समस्याहरूको समाधान चुनाव तथा संसद पुनःस्थापनाबाट होइन वैज्ञानिक समाजवादी व्यवस्थाबाट हुन्छ ।’
नेकपा रूपन्देही जिल्ला इन्चार्ज विदुरले मजदुरहरूको समस्या समाधानको निम्ति महान् दशवर्षे जनयुद्धमा पनि जनआन्दोलन गरेको र त्यतिबेला नेतृत्वले मजदुरहरूको आन्दोलनलाई बीचमै तुहाएको बताए । उनले महान् जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद तथा वेपत्ताहरूको सुन्दर सपनाहरूलाई कुठाराघात गरेको र दलालहरूले बीचमै अलपत्र पारेको भन्दै दुखेसो व्यक्त गरे । उनले मजदुरहरूको समस्या हल गर, एनसेललाई कारबाही गर, बलात्कारीहरूलाई कारबाही गर भन्दा राज्यले नेकपामाथि दुई वर्ष प्रतिबन्ध लगाएको बताए ।
अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरीले श्रमजीवी मजदुरहरूको सम्पूर्ण समस्याको हलको निमित्त वर्तमान संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले सम्पूर्ण मजदुरलाई संगठनमा संगठित गरि वैचारिक र राजनीतिक स्तरलाई माथि उठाएर ट्रेड युनियन अर्थात् मजदुर आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताए । यसैगरी, अखिल नेपाल जनसांस्कृति महासंघका लुम्बिनी ब्युरो संयोजक तथा अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले वर्तमान व्यवस्थाले मजदुर, किसान, सुकुम्बासीहरूको समस्या हल नगर्ने र यो व्यवस्थालाई बदल्नुपर्ने बताए । उनले रूपन्देही जिल्लाका सम्पूर्ण मजदुरहरूलाई एकताबद्ध गरेर कडा संघर्ष गर्नुपर्ने परिस्थति सिर्जना भएको बताए । कार्यक्रममा कपिलवस्तु, पाल्पा, नवलपुर लगायत जिल्लाबाट ठूलो मात्रामा जनसहभागिता रहेको यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष श्याम सेञ्चुरीले बताए ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य सन्देशको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता खगेन्द्र पौडेल, प्रमुख अतिथि ध्रुव, स्वागत मन्तव्य धनबहादुर कुमालले राखेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार