उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य

२०७७ चैत्र २३ गते, सोमबार

काठमाडौं । कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने बताएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ।
यसका साथै उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ। यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ-आफ्नो नगरपालिका भित्र एक-एक वटा आइशोलेसन /क्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको छ । सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्‍चालन गर्न समितिले आग्रह गरेको छ।

प्रतिक्रियाहरु