सहिद तथा बेपत्ता योद्धाहरुको सपनालाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्छौ ‘

२०७७ चैत्र २३ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य बिषमले सरकारसित गरेको ३ बुँदे सहमतिमा संसदीय व्यवस्थालाई अस्वीकार गरेको भन्दै जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिका महान् सहिद तथा बेपत्ता योद्धाहरुको सपनालाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताएका छन् । जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालको संयुक्त आयोजनामा बुटवलमा गरिएको अन्तरक्रियामा बोल्दै नेता बिषमले सैद्धान्तिक रुपले वार्ताबाट क्रान्ति नहुने तर क्रान्तिका लागि वार्ताबाट महत्वपूर्ण काम गर्न सकिने बताए । उनले भने, “हामीले विगतमा वार्ताबाट धोका खाँदै आएका छौं, अहिले हामीले वार्ताबाट जनतालाई धोका नदिने एकीकृत जनक्रान्तिमार्फत् सहिदका सपना पूरा गछौँ ।” नेता बिषमले अगाडि भने, “सैद्धान्तिक दृष्टिले वार्ताबाट क्रान्ति हुँदैन तर क्रान्तिका लागि वार्ताबाट महत्वपूर्ण कामहरु गर्न सकिन्छ ।” उनले दलाल पुँजीवादी राज्यसत्ता रहँदासम्म महान् सहिदहरुको सपना पूरा नहुने बताउँदै प्रतिक्रियावादीहरुको दमनबाट बाँचेर आएको अतिरिक्त जीवन क्रान्तिमा नै समर्पित गर्ने बताए ।
नेकपा केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज कृतिले संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य नै सहिद तथा बेपत्ता योद्धाहरुको सपना भएको बताउँदै ती सपना पूरा नहुँदासम्म संघर्ष जारी रहने बताएका छन् । नेता कृतिले जनताको रक्षाभन्दा ठूलो मानवअधिकार अरु केही हुन सक्छ ? भन्ने प्रश्न गर्दै सत्ताले जनतामाथि बन्दुक चलायो भने जनतालाई त्यसको प्रतिरोध गर्ने अधिकार भएको बताए । पार्टीले गर्ने संघर्ष कुनै रहरको बिषय नभएको र महान् सहिद तथा बेपत्ता योद्धाहरुको सपना पूरा गर्ने एउटा कडी सरकारसित गरिएको ३ बुँदे सहमति भएको समेत बताए । उनले पुँजीवादी सत्ताको विरुद्ध देशभक्त, क्रान्तिकारी, सच्चा लोकतन्त्रवादीहरुको एकीकृत संघर्षका लागि छलफल गर्न पार्टी तयार रहेको बताए ।

नेकपा केन्द्रीय सदस्य सावित्रा दुराले आधारपत्र प्रस्तुत गर्दै महान् सहिदहरुको सपनामाथि राज्यले धोका दिँदै आएको भन्दै क्रान्ति सम्पन्न नहुँदासम्म संघर्ष जारी राख्नुपर्ने बताएकी छिन् । उनले सहिद बेपत्ता योद्धाहरुका हत्याराहरुलाई राज्यले सम्मान र पुरस्कृत गरेर परिवारजनलाई अपमान गरेको समेत बताइन् । यसैगरी नेकपा केन्द्रीय स्कुलिङ विभागका प्रमुख भेसराज भुसालले महान् जनयुद्ध र जनआन्दोलनलाई संसदीय व्यवस्थाभित्र कैद गर्ने नेतृत्वको आत्मसमर्पणवादी र दलाल प्रवृत्तिका कारण सहिदहरुको सपना पूरा नभएको भन्दै शोषणकारी पुँजीवादी राज्यसत्ता रहँदासम्म सहिदहरुको सपना पूरा नहुने बताए । उनले विचार, निष्ठा र आदर्शलाई सरकारले दिने पैसासित साट्न नसकिने समेत बताए ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्री, नेकपा मसालका प्रवक्ता नारायण जीसी, नेपाली कांग्रेसका जिल्ला नेता ज्योति भण्डारी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठक, संगठनकी केन्द्रीय अध्यक्ष खुमा सुवेदी, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका उप–सचिव शन्तोष आचार्य, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, बार एसोसियसन रुपन्देहीका उपाध्यक्ष ज्ञानु केसी, माक्र्सवादी विचार मञ्च नेपालका सचिव बिनबहादुर कुँवर, राष्ट्रिय स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्कीलगायतले सहिद तथा बेपत्ताहरुको जिम्मा राज्यले लिनुपर्ने भन्दै राज्य सञ्चालन गर्ने नेतृत्वको नालायकीपनका कारण सहिद परिवारको बिचल्ली भएको बताएका छन् ।

कार्यक्रममा लुम्बिनी ब्युरो अन्तर्गतका कपिलवस्तु, रुपन्देही, नवलपुर, पाल्पालगायतका विभिन्न जिल्लाहरुबाट सहिद तथा बेपत्ता योद्धाका परिवारहरुको सहभागिता रहेको थियो । जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालले यसअघि नेपालगञ्ज र दाङमा संयुक्त अन्तरक्रिया सम्पन्न गरिसकेको छ ।

बुटवलमा आयोजित कार्यक्रमको अवसरमा सहिद तथा बेपत्ता योद्धा परिवारका तुल्सा पाण्डेको अध्यक्षतामा ५ सदस्यीय राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल लुम्बिनी ब्युरो समेत गठन गरेको संगठनकी केन्द्रीय अध्यक्ष खुमा सुवेदीले बताइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु