‘क्रान्ति अन्तिम उद्देश्य हो’

२०७७ चैत्र २२ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले क्रान्ति नै अन्तिम उद्देश्य भएको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार काठमाडौँ उपत्यका ब्युरोस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिँदै सो कुरा बताएका हुन् । सो प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने– ‘क्रान्ति अन्तिम उद्देश्य हो । त्योभन्दा अर्को ढङ्गले पार्टी र नेतृत्वले सोच्न सक्दैन ।’
प्रवक्ता प्रकाण्डले पार्टीले हालै अँगालेको वार्ता र संवादको नीतिको उद्देश्य आफ्ना राजनीतिक मुद्दामा आफैँले निर्णय गर्ने अधिकार जनतालाई दिने रहेको बताए । उनले राष्ट्रको स्वाधीनता, नेपाली जनताको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सम्पूर्ण अधिकारलाई संकटमा पार्ने दलाल पुँजीपतिवर्ग र त्यसको संसदीय व्यवस्था रहेको ठोकुवा गर्दै वर्तमान संकटको समाधान गर्न शासन व्यवस्था र त्यसको नेतृत्व गर्ने वर्गमा क्रान्ति गर्नु आवश्यक भएको बताए ।
प्रवक्ता प्रकाण्डले क्रान्तिको निम्ति जनतालाई राष्ट्र र आफ्ना मुद्दामा निर्णय गर्न दिने अधिकार सुनिश्चित गर्न र जनताले गरेको फैसला मान्नु सबै राष्ट्रवादी, क्रान्तिकारी, प्रगतिशील लोकतन्त्रवादी र देशभक्त राजनीतिक पार्टीहरुको कर्तव्य भएको बताए । उनले यिनै कुराको सुनिश्चितताको निम्ति नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी व्यवस्था, जनमत संग्रह र प्रगतिशील संयुक्त सरकारको नीतिगत शृंखला अगाडि सारेको बताउँदै यसलाई लागू गर्नको निम्ति सबैलाई जिम्मेवारीका साथ र शान्तिपूर्ण ढङ्गले लागिपर्न आमपार्टी पंक्तिलाई निर्देशन दिए । यसैगरी, प्रवक्ता प्रकाण्डले देशका घोर दलालतत्व र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनबाट दलाल, पुँजीवादी सत्तामा पुग्ने भ¥याङ बनाउने कम्युनिस्ट आन्दोलनका अभिजात वर्गीय दलाल, अपराधीतत्वहरु नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताले अगाडि सारेको नीतिगत शृंखलाबाट र पार्टीले खोलेको नयाँ राजनीतिक मोर्चाविरुद्ध षड्यन्त्र र अफवाह फैलाइरहेको ठोकुवा समेत गरे ।
प्रवक्ता प्रकाण्डले देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको नीतिगत शृंखलालाई मूर्तरुप दिन आमराष्ट्रवादी, क्रान्तिकारी, प्रगतिशील लोकतन्त्रवादी दल, नेता र सम्पूर्ण तह र तप्काका आमस्वाभिमानी नेपाली जनतालाई अपिलसमेत गरेका छन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले एकीकृत जनक्रान्तिले ठीक समयमा ठीक ठीक बिकल्प दिँदै आइरहेकोले यो सहमति वार्ता पनि पार्टीले संसदीय ब्यवस्थाको असफलतालाई चिर्दै नेपाली जनताको मागअनुसार सहीनीति र कार्यक्रम दिएको बताए । उनले यो सहमतिलाई त्यहीअनुसार बुझ्न र बुझाउन जरुरी रहेकाले सबै नेता, कार्यकर्ताले आफ्नो कार्यक्षेत्रमा जिम्मेवार भएर लाग्न निर्देशनसमेत दिए ।
सो प्रशिक्षण कार्यक्रममा नेकपाका सल्लाहकार समितिका अध्यक्ष असारे काका, एकीकृत जनक्रान्तिका घाइते योद्धा सुेरन्द्र महर्जनले पनि परिवर्तित राजनैतिक अवस्था र पार्टीको जिम्मेवारीबारे आ–आफ्नो धारणा राखेका थिए । नेकपाका उपत्यका इन्चार्ज मिलनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा काठमाडौँ इन्चार्ज शरद रसाइलीले स्वागत र नेकपा नुवाकोट इन्चार्ज सविता तामाङले सञ्चालन गरेकी थिइन । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु