ब्राजिलका तीन वटै सुरक्षा प्रमुखद्वारा सामुहिक राजीनामा !

२०७७ चैत्र १८ गते, बुधबार


काठमाडौं । ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकैचोटी राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले सोमबार आफ्ना रक्षा मन्त्रीलाई हटाएपछि तीनवटै सुरक्षा निकायका प्रमुखले एकै पटक राजीनामा दिएका हुन् । ब्राजिलको सेना, नेभी र एयर फोर्सका प्रमुखले सामुहिकरुपमा राजीनामा बुझाएका हुन् । नयाँ रक्षामन्त्रीलाई भेटेर उनीहरूले एकसाथ राजीनामा बुझाएको बताइएको छ । मन्त्रालयले उनीहरूको ठाउँमा नयाँ प्रमुखहरू नियुक्त गरिने बताएको छ ।
राष्ट्रपतिसँग असहमति राखेर इतिहासमा पहिलो पटक तीनै सेनाका प्रमुखले राजीनामा दिएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभई आफ्नो तजबिजमा चलाउन खोजेपछि रक्षामन्त्री फर्नान्डो एजेभेडो इ साल्भाले त्यसको विरोध गर्नुभएको थियो । कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै चर्को आलोचना खेपिरहेका राष्ट्रपति बोल्सोनारोलाई यो घटनापछि चुनौती थपिने भएको छ । ब्राजिलमा अहिलेसम्म कोरोनभाइरसको संक्रमणबाट ३ लाख १४ हजार मानिसको ज्यान गइसकेको छ भने पछिल्लो समय त्यहाँ संक्रमण फेरि तीव्र रूपमा फैलिरहेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु