अझै तीन दिन मौसम स्थिर रहने !

२०७७ चैत्र १७ गते, मंगलवार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको जनाएको छ । विभागले यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ । देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्ड मै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ । खासगरी राजधानि काठमाडौँलगायतका शहरहरु जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ । त्यस्ता ठाँउमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनियरुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ । आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आजबाट पारदर्शिता केही बढ्ने सम्भावना रहेको छ । सोमबार देशको केही स्थानमा फाटफुट वर्षाका साथै हल्का हावा चलेको कारण पारदर्शिता बढेको बताइएको छ । “मौसम पूर्णरुपमा सुधार हुने अवस्था भने तत्काल देखिएको छैन् ।” मौसमविद् नगरकोटीले भन्नुभयो । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुसमेतको आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागकै एक–दुई स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रियाहरु