म्यान्मारमा प्रदर्शनकारीको हत्या : १२ देशका रक्षामन्त्रीद्वारा निन्दा

२०७७ चैत्र १६ गते, सोमबार


काठमाडौं । म्यानमारमा ‘कू’ विरोधी सयभन्दा बढी प्रदर्शनकारीको हत्याले विश्वभरिबाट आक्रोश निम्त्याएको छ । अमेरिका सहित १२ देशका रक्षामन्त्रीहरूले सेनाको निन्दा गरेका छन् । अमेरिका, जापान र अस्ट्रेलियासहित एक दर्जन देशका रक्षा मन्त्रीहरुले एउटा विरल संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका हुन् ।
वक्तव्यमा व्यावसायिक सेनाले संहितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्नुपर्ने र जनतालाई क्षति पुर्‍याउन नभई सुरक्षा दिन जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गरिएको छ ।
अमेरिकाले हत्याका खबरबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएको छ । बर्माका नागरिकको साहसले सैनिक शासनको आतंकलाई खारेज गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको भनाइ छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले हिंसाका खबरबाट स्तब्ध भएको बताएका छन् । बेलायती विदेशमन्त्री डोमिनिक राबले म्यानमारको अवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ ।
शनिबार म्यानमारमा भएको सैन्य कूयताकै सबैभन्दा हिंसात्मक दिन बनेको थियो । सोही राति सैन्य प्रमुख मिन आङ लाइङ्ग र उनका सैन्य जनरलहरूभने सशस्त्र बल दिवसको अवसरमा राति एउटा विलासी भोजमा सहभागी भएका थिए । आइतबार अन्तिम संस्कारहरू भइरहँदा श्रद्धाञ्जलि कार्यक्रममा सेनाले हस्तक्षेप गरेको हो । फेब्रुअरीमा भएको कूपछि म्यानमारमा चार सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ । आमनिर्वाचनमा आङ सान सू चीको नेशनल लीग फर डेमोक्रेसीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु