सारसङ्ग्रहवादबारे केही कुरा

२०७७ चैत्र ९ गते, सोमबार

हस्तबहादुर के.सी.

विश्वमा धेरै प्रकारका दार्शनिक प्रणालीहरू छन् । सारसङ्ग्रहवाद पनि एक दार्शनिक प्रणाली हो । आदिम साम्यवादी सामाजिक व्यवस्थालाई पार गरेर जब मानवसमाज वर्गीय समाज, जो दास प्रथात्मक वर्गीय समाजमा प्रवेश ग¥यो, त्यसपश्चात् मानिसले उत्पादनमा भाग लियो । उत्पादनको पनि विकास हुन गयो । त्यसपछि मानवसमाजमा श्रमविभाजन, व्यक्तिगत सम्पत्तिको उदय र वर्गसङ्घर्षको प्रक्रियासँग दर्शनको पनि जन्म भयो । हरेक इतिहासको विकासको प्रक्रियाको अध्ययन सम्बन्धित विषयवस्तुसँग अन्तरसम्बन्धित भए झैँ दर्शनको ऐतिहासिक विकास प्रक्रियाको अध्ययन दर्शनको इतिहाससँग सम्बन्धित छ । दर्शनको इतिहासमा भौतिकवाद र अध्यात्मवाद तथा द्वन्द्ववाद र अधिभूतवाद सहित विभिन्न धारहरू बिचको सङ्घर्ष, दर्शनको विकास, वर्ग र वर्गसङ्घर्षमा दार्शनिक पक्षधरता जस्ता विषयवस्तुहरूबारे व्यवस्थित रूपले अध्ययन गरिन्छ । वस्तुविकासको प्रक्रिया झैँ दर्शनको विकास प्रक्रियाको नियम सङ्गतिलाई बुझ्नका लागि दर्शनको इतिहासको अध्ययनले आवश्यक मद्दत गर्दछ ।

दर्शनको इतिहासबारे कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स, लेनिन, माओले आ–आफ्ना विभिन्न रचनाहरूमा आवश्यक प्रकाश पार्नुभएको छ । चिन्तनको विकास प्रक्रियाबारे कार्ल माक्र्स भन्नुहुन्छ– “हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक सार र संस्कृतिको जीवन्त आत्मा हो ।” त्यस्तै चिन्तनको विकास प्रक्रियाबारे फ्रेडरिक एङ्गेल्स भन्नुहुन्छ– “हरेक युगमा र त्यसैले हाम्रो युगमा पनि सैद्धान्तिक चिन्तन ऐतिहासिक विकासको परिणाम हुन्छ । जसले अलग अलग धेरै भिन्न प्रकारका रूप धारण गर्दछ र रूपका साथसाथै जसको अन्तरवस्तु पनि परिवर्तित भइरहन्छ । अतः अरू हरेक विज्ञानको जस्तै चिन्तन विज्ञानको पनि ऐतिहासिक विज्ञान हो । र, यो मानव चिन्तनको ऐतिहासिक विकासको विज्ञान हो ।”

माक्र्स र एङ्गेल्सका यी संश्लेषणबाट के शिक्षा प्राप्त हुन्छ भने एकातिर चिन्तनलाई ऐतिहासिक विज्ञानको रूपमा र अर्कोतिर चिन्तन विकासको प्रक्रियामा त्यसको अन्तरवस्तु र रूपमा पनि परिवर्तन हुँदै जाने कुरा बुझ्न सकिन्छ । सारसङ्ग्रहवादको विकास प्रक्रियाको ऐतिहासिक सन्दर्भ निकै लामो छ । सारसङ्ग्रहवाद एक दार्शनिक प्रणाली भएकाले वर्गको उत्पत्तिसँगै यो दर्शनको पनि जन्म र विकास हुँदै आएको छ । यसको विकास प्रक्रियाका बारेमा मोहन बैद्य ‘किरण’ अगाडि भन्नुहुन्छ– “सारसङ्ग्रहवाद निकै पुरानो दार्शनिक प्रणाली हो । यो प्राचीन भारत र युनानदेखि लिएर अहिले पनि विद्यमान रहिआएको छ ।” मोहन बैद्य ‘किरण’ को भनाइबाट पनि के प्रस्ट हुन्छ भने सारसङ्ग्रहवादी चिन्तन र दार्शनिक प्रणालीको विकास प्रक्रिया निकै लामो छ र वर्तमान अवस्थामा यसको विकास प्रक्रिया जारी छ ।

विभिन्न दृष्टिकोणहरू, परस्पर विरोधी दार्शनिक विचारहरू सैद्धान्तिक अधिकारहरू, राजनीतिक मुल्य मान्यताहरू आदिलाई छ्यासमिस गरी मिलाउने र गज्याङ्मज्याङ् पारी प्रस्तुत गर्नुलाई सारसङ्ग्रहवाद भनिन्छ । सारसङ्ग्रहवाद यस्तो चिन्तन प्रणाली हो, जसले कुतर्कवादका आधारमा अनेकौँ अनमेल विचार, सिद्धान्त र दृष्टिकोणलाई एकै ठाँउमा घालमेल पार्ने काम गर्दछ । सारसङ्ग्रहवादीहरूबारे लेनिन भन्नुहुन्छ–“सारसङ्ग्रहवादीहरू या त असंस्कृत मानिस हुन् या धूर्त ।” उदाहरणको रूपमा एमाओवादी अध्यक्ष प्रचण्डलाई लिन सकिन्छ, जस्तो कि प्रचण्डद्वारा वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षको क्षेत्रमा निरन्तर सारसङ्ग्रहवादको प्रयोग गर्दै आउनुभएको छ । प्रचण्डमा महान् लेनिनले भन्नुभएका यी माथिका सारसङ्ग्रहवादका विशेषताहरू प्रवल रूपमा पाइन्छन् । प्रचण्डमा एकातिर माक्र्सवाद र प्रतिक्रियावादलाई एउटै ठाउँमा मिसाउने चिन्तन पाइन्छ भने अर्कोतिर जालझेल गर्ने यी सारसङ्ग्रहवादका प्रमुख विशेषता हुन् । यो किसिमका चिन्तन प्रणालीहरूलाई युनानी दार्शनिकहरूले भ्रमवाद पनि भन्ने गर्दथे । यहाँनेर प्रचण्डले एकातिर क्रान्तिका कुरा पनि गरेर जनतालाई भ्रममा पार्ने काम गर्दै आएका छन् भने अर्कोतिर प्रतिक्रान्तिकारी कदम पनि चाल्दै आएका छन् । फ्रेडरिक एङ्गेल्सले सारसङ्ग्रहवादलाई खिँचडीवाद भनेका छन् । यसले भौतिकवादलाई प्रत्ययवादसँग जोड्नका लागि विभिन्न प्रयत्नमा वा माक्र्सवाद र अनुभववादलाई द्वन्द्वात्मक भौतिकवाद तथा कान्टवाद आदिसँग मिलाउने संशोधानवादीहरूको इच्छा पुरा गरिदिने प्रयत्नमा रहन्छ ।

सारसङ्ग्रहवाद वर्तमान अवस्थामा पुँजीवादी दर्शनको पनि विशेषता हो । सारसङ्ग्रहवादको मुख्य कमजोरी वस्तुगत जगत्को सम्बन्ध तथा सङ्घर्ष सूत्रको कूल जोडबाट वस्तु र परिघटनाको ठोस ऐतिहासिक सापेक्षतामा यसको मुख्य सम्बन्धलाई अलग गर्न असमर्थ हुनु हो । यसले घटनाहरूको शृङ्खलामा मुख्य कडीको खोजीमा बाधा उत्पन्न गर्दछ र ठोस ऐतिहासिक अवधिको सर्वाधिक तात्कालिक समस्या समाधानको लागि कदम उठाउन रोक्छ । जस्तो कि प्रचण्डले जनताको नयाँ संविधान बनाउन कदम उठाउन नसक्नु र जनविद्रोहको कार्यदिशालाई बोक्न नसक्नु यसकै परिणाम हो । यसैलाई ऊँटवाद पनि भनिन्छ । जसरी ऊँटका विभिन्न अङगहरू तथा पशुका राम्रा अङ्गहरू ल्याएर जोड्दा यसको रूप राम्रो नभएर कुरूप हुन पुग्दछ । सारसङ्ग्रहवाद पनि यस्तै हो । यसले सारहरूलाई यान्त्रिक रूपमा जोड्छ र विभिन्न दर्शन र सिद्धान्तलाई एकै ठाँउमा जोडेर कुरूप बनाउने र कतिपय राजनीतिक विचारहरू मौलिक रूपमा नभएर विभिन्न दर्शनहरूका सारलाई जोड्ने काम गर्दछ । यसले न त मार्गचित्र प्रस्तुत गर्न सक्छ न दृष्टिकोण र निर्देशन दिन सक्छ । त्यसैले यो एउटा थुप्रोको रूपमा मात्र रहन्छ ।

द्वन्द्वात्मक भौतिकवाद सारसङ्ग्रहवादका विरूद्ध खडा छ । द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादको आधारभूत सिद्धान्त र नियमहरूको एक प्रमुख तत्व हो । माक्र्सवाद विश्वदृष्टिकोण र सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार हो । द्वन्द्ववादी चिन्तनअनुसार अर्थात् माक्र्सवादी सिद्धान्तअनुसार वस्तु, घटना र प्रक्रियालााई मुर्तरूपमा ग्रहण गर्ने, ठोस परिस्थितिको ठोस विश्लेषण गरी मुख्य अन्तरविरोध मुख्य प्रवृत्ति तथा सारतत्वलाई ठम्याउने वस्तुहरूको पारस्परिक अन्तरसम्बन्ध र भिन्नतालाई सुसङ्गत ढङगले समग्रतामा अध्ययन गर्ने गरिन्छ तर सार सारसङ्ग्रहवादीहरूले यसको विपरीत वस्तु, घटना र विचारलाई घोलमेल पारेर, छ्यासमिस गरेर खिचडी तयार पार्दछन् । तमामखाले संशोधनवादीहरूले माक्र्सवादीहरूका विरूद्ध सारसङ्ग्रहवादी चिन्तन प्रणाली अवलम्बन गर्दछन् । पँुजीवादी सिद्धान्त र माक्र्र्सवादी सिद्धान्त, संसदीय बाटो र सशस्त्र सङ्घर्षको बाटोबीच क्रान्तिकारी कार्यदिशा र अवसरवादी कार्यदिशालाई एउटै ठाउँमा मिलाउने र जनतामा भ्रम छर्ने काम गर्दछ । यो विषयमा लेनिन भन्नुहुन्छ– माक्र्सवादलाई अवसरवाद बनाउने जालसाजीअन्तर्गत सारसङ्ग्रहवादलाई द्वन्द्ववाद बनाउने जालसाजीद्वारा जनसमुदायलाई धोका दिनु ज्यादै सजिलो हुन्छ । ठिक यसैकारण आजको युगमा तमाम प्रकारका प्रतिक्रियावादी तथा अवसरवादीहरूले माक्र्सवादका विरूद्ध सङ्घर्ष गर्दा सारसङ्ग्रहवादको उपयोग गर्दै आएका छन् । यसबारे सच्चा माक्र्सवादीहरू अत्यधिक सतर्क रहन जरूरी छ । अहिले प्रचण्ड र बाबुरामले यही तरिका अवलम्बन गर्दै आएका छन् ।

सारसङ्ग्रहवाद र द्वन्द्ववाद विपरीत दर्शन प्रणाली र विचार शृङ्खला हुन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सारसङ्ग्रहवाद र माक्र्सवादी द्वन्द्ववादका बिच भीषण सङ्घर्ष चल्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु