वर्तमान संकटको निकास :प्रगतिशील संयुक्त सरकार र जनमत संग्रह

२०७७ चैत्र ९ गते, सोमबार

यतिबेला संसद्वादी दलहरु देश र जनतालाई बेवास्ता गर्दै सत्ता र सरकारको छिनाझम्टीमा केन्द्रित भएका छन् । अझै दुई तिहाईको बहुमत प्राप्त सरकार ढालेर देशलाई अस्तव्यस्त र जनजीविका चौपट पार्ने कार्य भएको छ । संसद्वादी दलहरुको यही हर्कतले देशलाई अस्थिरतातर्फ धकेल्न देशी–विदेशी दलालहरु कम्मर कसेर लागेका छन् । जसको कारवाही राष्ट्र, राष्ट्रियतामाथि नै संकट आइलाग्ने स्थिति बनेको छ । देशभित्र घटेका यी तमाम घटनाहरुलाई नियाल्दा नेपालमा संसदीय व्यवस्था असफल भएको ठोकुवा गर्न सकिन्छ ।

देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन हालै सरकारले प्रतिबन्ध फुकुवा गरेको नेपाल कम्युनिस्ट पार्टीले भनेजस्तो प्रगतिशील संयुक्त सरकारको आवश्यकता अनिवार्य बन्दै गएको छ । देशको वर्तमान संकट समाधान संसदीय व्यवस्था र संसद्वादी दलले गर्न नसक्ने घामजत्तिकै छर्लङ्ग भइसकेको छ । यस्तो अवस्थाबाट देश र जनतालाई मुक्त पार्न आमक्रान्तिकारी, प्रगतिशील र सच्चा लोकतन्त्रवादी दल र नेताहरु एकजुट हुनुको विकल्प छैन । देश र जनताको खातिर अब आमक्रान्तिकारी र प्रगतिशील दल र नेता एकजुट भएर अगाडि बढ्नुपर्छ । यिनै शक्तिको नेतृत्वमा प्रगतिशील संयुक्त सरकार बनाई वर्तमान संकटको निकास खोज्नु देश, जनता, राजनीतिक दल र नेताहरुको लागि समेत हितकर हुनेछ ।

तसर्थ, नेपाल कम्युनिस्ट पार्टीले भनेजस्तो देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन देशमा कस्तो व्यवस्था लागू गर्ने र कस्तो शासन प्रणाली अङ्गीकार गर्ने भन्ने विषयको छिनोफानो गर्ने अधिकार जनतालाई दिनुपर्छ । त्यसको लागि सबै अग्रगामी राजनीतिक दल र नेताहरु एकजुट भएर प्रगतिशील संयुक्त सरकार गठन गर्नुपर्छ र त्यही सरकारको नेतृत्वमा व्यवस्था र शासन प्रणाली छनौट गर्ने अधिकार जनतालाई दिनुपर्छ । जनमतअनुसारको व्यवस्था र शासन प्रणालीले नै देशका तमाम समस्याको समाधान गर्दै देश र जनताको रक्षा गर्न सक्छ । अन्यथा स्थिति भयावह हुने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु