फालिदेऊ

बलराम तिमल्सिना २०७७ चैत्र ५ गते, बिहीबार

·

फालिदेऊ हो फालिदेऊ ,
त्यो स्वतन्त्रताको वकवास !
आगो बालेर हालिदेऊ,
त्यो स्वतन्त्रताको वकवास !
फालिदेऊ हो फालिदेऊ…….
मन्दिर छिर्न र धारा छुन
स्वतन्त्र छैनन् मान्छे यहाँ !
बुहारी बन्न ज्वाइँ बन्न
स्वतन्त्र छैनन् मान्छे यहाँ !
स्वतन्त्रताको घाँटी रेट्छ,
जातपातको तरवारले !
सपना रोक्छ रहर रोक्छ,
धन दौलतको तगारोले !
फालिदेऊ हो फालिदेऊ……!
कराई या तावा रोज्ने
माछालाई सोधेजस्तो !
कसैलाई छ स्वर्गजस्तो,
कसैलाई छ नरक जस्तो !
भोको मान्छे जुनीभरी,
भैकै बस्न स्वतन्त्र छ !
नाङ्गो मान्छे शिशिरमा,
नाङ्गै बस्न स्वतन्त्र छ !
फालिदेऊ हो फालिदेऊ….!
यो धनीहरूको स्वतन्त्रता,
यो गरीवलाई पराधिनता !
शक्तिसालीको स्वतन्त्रता,
यो निर्धालाई हो दासता !
हजारौं वर्ष भयो अझै,
महिलाहरू स्वतन्त्र छैनन् !
पसिना झार्ने श्रमिकहरू र
अछूत भनिने स्वतन्त्र छैनन् !
फालिदेऊ हो फालिदेऊ….

प्रतिक्रियाहरु