नेपालका सम्भावना र चुनौती

२०७७ चैत्र ४ गते, बुधबार

नारायण शर्मा

नेपालको भौगोलिक अवस्थिती, युरेनियम लगायतका अमूल्य र असीमित खनिज, अथाह जलसम्पदा, बहुमूल्य बनजङ्गल र जडीबुटी, अवर्णनीय मनमोहक प्राकृतिक सुन्दरता र प्राचीनतम ज्ञान-विज्ञान, कला-संस्कृति र सभ्यता-संस्कार आदि कैयौं कुराहरु नेपालका अमूल्य निधि र असीमित प्रकृतिप्रदत्त कुराहरु उज्ज्वल सम्भावनाका श्रोतहरु हुन् । यी कुराहरु नेपालको नाम, दाम र कामका आधारभूत पर्याय हुन् जो प्राकृतिक वरदान नै हुन् । तर यिनै कुराहरु नेपालका लागि समस्या र चुनौतीका अजङ्गका पहाड पनि भएका छन् ! स्वछ र स्वाभिमानी, असल र सफल अनि देसभक्त र विकासप्रेमी नेपाली नेता-शासकहरुका लागि उक्त कुराहरु गर्व र गौरवका, सान र मानका अनि विकास र समृद्धिका महाश्रोत हुन् भने मूर्ख र मखण्डी, दास र दलाल अनि भ्रष्ट र दुष्ट नेता-शासकहरुका लागि भने भील्लका देसका मणि वा अझ भनौं भष्मासुरको शक्ति हुन गएका छन् ! अर्को शब्दमा भन्ने हो भने नेपालका उपरोक्त असीमित सकारात्मक प्राकृतिक श्रोत र सम्भावनाहरु ज्ञानी सज्जनका लागि शृखन्ड र अज्ञानी दुर्जनका लागि खुर्पाको बींड भनेजस्तै भएका छन् । अथवा यसो भनौं कि यहाँका परमुखापेक्षी र परजीवी, गलत र गद्दार वा भ्रष्ट र भाट नेता-शासकहरु नै यो देसका मुख्य र वास्तविक चुनौती हुन् ! यो कुरा वर्तमानका घटनाक्रमहरुबाट समेत पुष्टि भएको छ !
दुईतिहाईको बहुमतको सरकार बनाएको देसकै सबैभन्दा ठूलो पार्टी नेकपाका शीर्ष नेताहरु नै आपसी व्यक्तिगत स्वार्थपूर्तिको लागि खिचातानी, गालीगलौज, गुटउपगुट र कुटाकुटमा लागेपछी अहिले कम्युनिस्ट पार्टी र आन्दोलन टुटफुट र विभाजन-विसर्जनतिर गएको छ । तर अन्य पार्टीहरु र तिनका नेताहरु भने सत्तास्वार्थ पूर्तिको अकल्पनीय अवसर प्राप्त भएकोमा हर्षोल्लास मनाउँदै नेकपाकै एउटा वा अर्को गुट ओलीको एमाले वा प्रचण्डको माओवादी केन्द्रसित मिलेर सरकार बनाएर खाइनैहाल्ने भनी दौड-धुप, भेट-घाट, साँठ-गाँठ, वार्ता-छलफल, दलाली-चाकरी, हार-गुहार, जाल-झेल, छल-कपट र साजिस-षड्यन्त्रमा जुटेका छन् !
पार्टी र नेताहरुका यसप्रकारका हर्कतहरुलाई बाँकी नेता-कार्यकर्ताहरु पनि आहा र आँ-आँ गर्दै ताली पिट्नेमा लागेका कारण अब पार्टी मात्र विचलित, विकृत, विघटित र विसर्जित हुने नभएर देस समेत अस्थीरता, अराजकता, अशान्ती, अकर्मण्यता र अस्तव्यस्तता जस्ता पाँच अ जन्य चुनौतीहरुको चक्रब्यूहमा पुन: फसेको छ ! फलस्वरूप साम्राज्यवादी-विस्तारवादी साँढेहरुलाई नेपालको छातीमाथी डुकृने र उफृने अनि देसै टुकृने चरम खतरा समेत बढेको छ ! यति मात्र पनि होइन, यसरी देस टुक्रा-टुक्रा पारेपछी त साम्राज्यवादी-विस्तारवादीहरुको लागि नेपालको अस्तित्व नै समाप्त हुने गरी नेपाल निल्न सजिलो हुनेछ ! यति भएपछी त अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादी प्रतिक्रियावादीहरुको लागि नेपाल नै नरहेमा एकातिर “नरहे बाँस न बजे बांसुरी” भनेझैं हाइसन्चो हुनेछ भने अर्कातिर तिनीहरुद्वारा दुष्ट दुश्मन राष्ट्र भनिएको हाम्रो घनिष्ठ छिमेकी सच्चा मित्रराष्ट्र चीनलाई समेत घेर्न र फोर्न अनि डोमिनेट र डिस्ट्रोइ गर्न सहज हुनेछ । यसरी उनीहरुलाई विश्वभरी एकलौटी शासन र कासन गरेर मोजमस्ती मिल्ने सुनौलो अवसर प्राप्त हुनेछ । तर यो कुरा उनीहरुको दिवास्वप्न मात्र हो ! कथं त्यो सपना पूरा भैहालेछ भने पनि साम्राज्यवादी-विस्तारवादीहरुको त्यो लूटको साम्राज्य भएकोले धेरै दिन त कुनै हालतमा टिक्ने छैन !

त्यसैले इतिहासमै यस्तो सर्वाधिक गम्भीर र संवेदनशील आजको यो अवस्थामा देस-विदेसमा छरिएर र भौंतारिएर रहेका सम्पूर्ण सच्चा देसभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील, अग्रगामी र क्रान्तिकारी नेपालीहरु एकजुट र एकमुख भै साम्राज्यवादी-विस्तारवादी र तिनका दास, दलाल र दुष्ट नेपाली नेता-शासकहरुका विरुद्ध विद्रोहरुपी वज्र बनेर विष्फोट हुनु अत्यन्त जरुरी भएको छ । अन्यथा पश्चात्ताप बाहेक अरु राम्रो केही पाइने छैन । तसर्थ समयमै सचेत भई मोर्चाबद्ध र एकताबद्ध हुँदै सशक्त खबर्दारी गरौं ! र, निर्णायक हस्तक्षेपद्वारा उपरोक्त गम्भीर चुनौतीहरु चिर्दै प्राप्त सुनौला सम्भावना र अवसरहरुलाई सार्थक र सदुपयोग गरौं !!

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु