‘सी’ डिभिजन लिग फुटबल हुदै

२०७७ चैत्र १ गते, आईतवार


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । १४ टिमले प्रतिस्पर्धा गर्ने ‘सी’ डिभिजन लिगमा ५२ खेल हुनेछ भने ३ टीम ‘बी’ डिभिजनमा बढुवा हुने आयोजकले जनाएको छ । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ । सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् ।
यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् । दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । दुई समूहको गरेर कूल ४२ खेल हुनेछ । पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ यस्तै रेलिगेसनका लागि एक प्लेअफ खेल हुनेछ ।
समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच आज उद्घाटन खेल हुँदैछ । यस्तै समूह ‘बी’ मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल चैत २४ गते समाज कल्याण खेलकुद केन्द्र र महावीर क्लब तथा स्वयम्भु र वीरगन्जबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दुवै समूहको पुछारमा रहने टोलीबीच रेलिगेसनको लागि प्लेअफ खेल हुनेछ । उक्त खेलमा पराजित हुने टोली ‘सी’ डिभिजन क्वालिफायरमा घटुवा हुनेछ । सुपर लिगको ९ खेलपछि शीर्ष तीन टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् ।

प्रतिक्रियाहरु