प्रतिगमन

उषाकिरण आजाद २०७७ चैत्र १ गते, आईतवार

रगतले कोरिएका

ती लालकिल्लाहरू मेटिँदा

बुटहरूले भत्काइँदा जनअदालतहरू

जिवनसँग साटिएका ती हतियारहरू

तिमीले नै समर्पण गर्दा

प्रिय सखा

तिमीलाई प्रतिगमनको आभाषै भएन ।

काख रित्तो बनाएर आमाहरूका

लालाबाला टुहुरा राखेर घरहरूमा

साँचेका ती अजम्बरी सपनाहरू

कुर्सीसँगै तिमीले सौदाबाजी गर्दा

प्रिय सखा

तिमीलाई प्रतिगमनको आभाषै भएन ।

आफैंले आफ्नाहरूमाथि नै प्रतिबन्द लगाउँदा

आफ्नै एजेण्डा

आफ्नै रगत

आफ्नै खुन पसिना माथि

तिमीले नै प्रतिबन्ध लगाउँदा

आदरणीय सखा

तिमीलाई प्रतिगमनको आभाषै भएन ।

हिजो तिम्रै ढाल बनेर

तिम्रै सुरक्षाका लागि

तिम्रै आदेशको रक्षा गर्नेहरूको

आज एक एक गरेर चिरहरण भैरहँदा

पराई देशका ती बिराना गल्लीहरूमा

प्रिय सखा

तिमीलाई प्रतिगमनको आभाषै भएन ।

प्रिय सखा

जब आउँछन काँडाहरू तिम्रा हिँड्ने बाटाहरूमा

तिमी जनताको जनयुद्ध सम्झिन्छौ

जब ठेस लाग्छ तिम्रा खुट्टाहरूमा

अनि तिमी जनमुक्ति सेना सम्झिन्छौ

आफैँ अन्याएको कठघरामा उभ्याइन्छौँ जब

अनि जनताको जनअदालत सम्झिन्छौ

प्रिय सखा

आज तिम्रो भाग खोसिन लाग्यो होला

तिम्रो टेक्ने जमिन हल्लिन थाल्यो होला

जब तिम्रो आवाज

विरालोको म्याउ जत्तिको पनि नहुने भयो होला

जब हावाले पनि हल्लाउन थाल्यो

झुटमाथि बनाइएका तिम्रा ती भ्रमका महलहरू

ओ मेरो प्रिय सखा

तिमी जनयुद्ध सम्झिरहेका छौँ

आज जनआदालत सम्झिरहेका छौ

तिमीले लालकिल्ला सम्झिरहेका छौ

श्रावण भएको छ तिमी चिच्याउन थालेका छौ

अचेल जोड जोडले रून थालेका छौ

र माइकिङ गरिरहेकाछौ चोक र चौतारीबाट

भनिरहेछौ प्रतिगमन भयो !

प्यारो सखा

यो प्रतिगमन त नौलो नै होइन

जो तिमीलाई आज मात्रै आभाष हुन गएको छ

किनकि यो प्रतिगमन

जनयुद्धले फुलाएको राता पूmलहरूमाथि

रगत र पसिनाले आर्जेका लालकिलाहरू माथि

रित्ता राखेका कोखहरूमाथि

आफ्नै र आफ्नाहरूको रगतैको होली खेलेर

हासिल गरिएका ती अदर्शहरूमाथि

तिमीले नै एक दशक अघि गरेको

उहीँ निर्मम प्रतिगमनको

अर्को अध्याय भनू

अर्को संस्करण भनू

या भनू विस्तारित रूप मात्रै हो ! !

प्रतिक्रियाहरु