रणनैतिक संयुक्त मोर्चाद्वारा वार्ताको नाममा षड्यन्त्र नगर्न सरकारलाई चेतावनी

२०७७ फाल्गुन १९ गते, बुधबार


काठमाडौँ । रणनैतिक संयुक्त मोर्चाले इटहरीमा विशाल जनसभा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाले मंगलबार इटहरीमा विशाल जनसभा सम्पन्न गरेको हो । सो जनसभाका सबै वक्ताहरुले सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग गर्ने वार्तालाई सफल तुल्याउनु पर्ने बताउदै उनीहरुले वार्ताको नाममा षड्यन्त्र नगर्न सरकारलाई चेतावनी समेत दिएका छन ।
उक्त जनसभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्ने घोषणा गरेको प्रसङ्ग कोट्याउँदै सरकारले वार्तामार्फत कुनै सड्यन्त्र नगर्न ओली सरकारलाई चेतावनी दिए । उनले प्रतिबन्ध नै फुकुवा नगरी वार्ता समिति बनाएकाले शंका गर्ने ठाउँ रहेको धारणा ब्यक्त गरेका छन् । सरकारले तत्काल नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र राजनीतिक बन्दीहरुलाई बिनासर्त रिहा गर्नुपर्ने अनि मात्र वार्ताको प्रक्रिया अगाडि बढ्ने उनले बताए । यदि सरकारले वार्ताको नाममा सड्यन्त्र गरे ओलीको दमनकारी रणनीतिलाई संयुक्त मोर्चाका सबै घटक र आम जनसमुदायले उनका सारा कुकृतिहरुलाई परास्त गरिछाड्ने बताएका छन् । उनले ओलीलाई शक्तिको भरमा जनतालाई निरन्तर दमन गर्ने दुष्प्रयास नगर्न समेत चेतावनी दिएका छन् । यदि शक्तिको भरमा जनतामाथि दमन गर्ने दुस्प्रयास गरेभने ओलीलाई लिबियाका कर्णेल गद्दाफीको हालतमा पुर्याउनुपर्ने बाध्यता आउँन सक्ने भन्दै आफुलाई त्यो बाटोमा जान बाध्य नपार्न पनि चेतावनी दिएका दिए । नेकपासँग वार्ताको नाटक गरेर ओलीले कुनै सड्यन्त्र गरे भने रणनीतिक संयुक्त मोर्चाले त्यसलाई प्रतिकार गर्ने पनि बताए ।
यसैगरी, उक्त जनसभालाई सम्बाेधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीकले ओली असफल हुनु भनेको सत्ता र संसदीय व्यवस्था असफल हुनुका साथै समग्रमा विश्व साम्राज्यवाद असफल भएको बताए । उनले मोर्चा निर्माण गर्नुका कारण र उद्देश्यका बारेमा प्रष्ट पार्दै मोर्चा सम्बद्ध दलहरु पार्टी एकता सम्म अगाडि बढ्ने र संघीय जनगणतन्त्र /बैज्ञानिक समाजवाद प्राप्तिको लागि सच्चा क्रान्तिकारीहरु एक हुनु पर्नेमा जाेड दिए। उनले डबल नेकपाका दुबै समूहले पञ्च र्याली गरेर शक्ति प्रदर्शन गरेको प्रसंग उल्लेख गर्दै संसद पुनर्स्थापना वा चुनाव जे भए पनि यो ब्यवास्थावात देश र जनताले मुक्ति नपाउने दाबी गरे । कँडेलले ओली प्रचण्डको अन्तरविरोधका कारण नेपाली जनताले दुख पाउदै गइरहेको अबस्था भएकोले अब यो व्यवस्थाका बिरुद्ध बैकल्पिक सत्ताको निम्ति अर्को बाटोमा अघि बढ्नुपर्ने परिस्थिति खडा भएको बताए । उनले साम्राज्यवादी व्यवस्थाले विश्वभर कही पनि श्रमजीवी जनताको आधारभूत आवश्यकता पूरा गर्न सकेको उदारण नभएकाले नेपाल त्यसको अपबाद हुन नसक्ने र नेपालमा झन् दलाल संसदीय व्यवस्थाका रुपमा स्थापित भइसकेको संसदीय प्रणालीले हल गर्ला भनेर भ्रममा पर्नु भन्दा जनवादी र बैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति संघर्ष गर्नुपर्ने बताएका छन् ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीकी नेतृ धिरिन्द्रा कुमारी उपाध्याय ‘भृकुटी’ ले अहिलेको दलाल संसदीय व्यवस्थाले नेपालका महिलाहरुको हित र अधिकार स्थापित गर्न नसक्ने बताउँदै अहिले संविधानमा व्यवस्था भएको ३३ प्रतिशत अधिकारको कुरा पनि कागजमा मात्र सिमित भएको बताइन् । उनले आफुहरुले अधिकार न्याय र स्वतन्त्रताका लागि आवाज उठाउँदा प्रतिबन्धित हुनुपरेको भन्दै दलित आदिवासी जनजाती र मधेशी महिलाहरुको हितका निम्ति अहिलेको व्यवस्थाका बिरुद्ध बैकल्पिक व्यवस्था स्थापना गर्ने आन्दोलनमा अघि बढ्नुपर्ने बताएकी छन् । अहिलेको व्यवस्थाले महिलाहरुलाई सम्पत्ति बिहीन बनाएर, अधिकार बिहीन बनाएर नारीहरुलाई नाङ्गो बनाएर मनोरञ्जनको साधन बनाइएको र साधनस्रोत र सत्तामा महिलाहरुको पहुँच नहुने बाताबरण बनाएर शरीर बेचेर जिविका पाल्नुपर्ने बाध्यात्मक अबस्थामा पुर्याउने यस प्रकारको व्यवस्थाका बिरुद्ध लड्नुको विकल्प नभएको उनले बताइन् । निर्मला पन्तदेखि भागरथी भट्टसम्मका बलात्कारका घटनामा राज्य गम्भीर भएर नलागेको भन्दै उनले कडा आक्रोश ब्यक्तसमेत गरेकी छन् ।
त्यसैगरी बैज्ञानिक समाजवादी पार्टी नेपालका संयोजक आहुतीले ओली सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने नाटक गर्न खोजेको भन्दै सरकारले यो पटक त्यसरी नाटक गरेको खण्डमा जनताले ओली सरकारलाई नै प्रतिबन्ध लगाईदिने बताए । एउटा राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउनु नै अपराध भएकाले प्रतिबन्ध फुकुवा नगरिकन नै वार्ताको नाटक गरिन्छ भने यसमा शंका गर्ने ठाउँ रहेको उनले बताए । आफ्नो संकटलाई टार्नका निम्ति र जनतासँग साखुल्ले पल्टिनका निम्ति वा देखाउनका निम्ति मात्रै वार्ता टोली गठन गरिएको छ भने त्यस्तो नाटक गर्नेहरुलाई सजायको कठघेरामा उभ्याउने बताएका छन् । उनले यो रणनीतिक मोर्चा भनेको चार पार्टीको मात्र मोर्चा नभएर यो देशको संसदीय ब्यबस्थाबाट असन्तुष्ट सम्पूर्ण नागरिकको मोर्चा हुने बताएका छन् ।
उक्त कार्यक्रमको संचालन बैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य गोकुल चाम्लिङले गरेका थिए ।

प्रतिक्रियाहरु