शिकारीतन्त्र !

बलराम तिमल्सिना २०७७ फाल्गुन १८ गते, मंगलवार


तिर्खा लागेको समयमा
धारा, कुवा, नदी , झरना या ताल
कतै आँखा लगाएन उसले
केवल मान्छेमा आँखा लगायो
निकालेर मान्छेको रगत
तनतनी पियो र तिर्खा मेटायो !
जब भोक लाग्यो उसलाई
भात, रोटी, पुलाऊ बिरियानी
केही पनि खान मानेन
कैयन दिन भोकै बस्यो बरु
र जब भोकले उपद्रो गर्न थाल्यो
मासु नै खोज्यो उसले
र, त्यो पनि
बँदेल, मिर्ग, कालिज
राँगा, सुँगुर, खसी, कुखुरा
ती केही पनि खान मानेन
एकान्तमा हिडेकी युवती समायो
मनमौजी मोज गर्यो र चपायो
झुप्राबाट किसान निकाल्यो
मनमौजी यातना दियो र चिथोर्यो
र उग्राउँदै बस्न थाल्यो ।
जव उसलाई उत्सव मनाउन मन लाग्यो
कुनै उत्सवले काम गरेनन्
त्यसपछि उसले
खेलीरहेका बच्चाहरूमाथि
खुर्सानीको धूलो फाल्यो
एकछिन हेर्यो
खै के अपुग सोच्यो
र पनि तेजाव छेप्यो
जब बच्चाहरू चिच्याउन थाले
रुन र बिलौना गर्न थाले
ऊ बच्चाहरू भए ठाउँ कटौरा लिएर गयो
बच्चाहरूको आँसु थाप्यो कटौरामा
मन मनै सोच्यो
‘म अर्को पटक घैला लिएर आउने छु’
मुख धोयो त्यो आसुले
त्यसपछि बल्ल मुसुक्क मुस्कुरायो
र भन्यो-
‘उत्सव होस त यस्तो होस !’
यी सबै दृश्यहरूको
साँक्षी बनेपछि पटक पटक
मैले त्यो हिंस्रक चिजको नाम फेरिदिएँ
र शिकारीतन्त्र राखिदिएँ
उसको पुरानो नाम के हो भनेर
सायद तपाईहरूले अनुमान गरिसक्नु भयो !

प्रतिक्रियाहरु