पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि

२०७७ फाल्गुन १८ गते, मंगलवार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ । निगमले स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरेअनुरुप पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको प्रवक्ता विनित मणि उपाध्यायले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । पछिल्लो तीन हप्ताबीच ३ पटक मूल्य बृद्धि भएको छ । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईएको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ ।
मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ पैसा, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु