नजरबन्दमा रहेकी नेतृ सूची सार्वजनिक

२०७७ फाल्गुन १७ गते, सोमबार


काठमाडाैँ । गत फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची सार्वजनिक भएकी छन् । उनलाई आज भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उनका वकिलहरूले बताएका छन् । भिडियोमा हेर्दा उनको स्वास्थ्य अवस्था सामान्य रहेको वकिलहरुको भनाइ छ । सेनाले सत्ता कब्जामा लिएपछि सूचीलाई अज्ञात स्थानमा नजरबन्द गरेर राखिएको छ ।
म्यानमारमा सूचीको रिहाइमो माग गर्दै दैनिक सडक प्रदर्शनहरु भइरहेका छन् । आइतबारको प्रदर्शन भने अरु दिनको भन्दा निकै हिंस्रक बन्यो । प्रदर्शनमा सहभागी १८ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । गोली लागेर कैयौं मानिस अस्पतालमा भर्ना भएका छन् ।आइतबारको हिंस्रक अवस्थापछि पनि सोमबार प्रदर्शनकारीहरु सडकमा देखिएका छन् । उनीहरुले सूचीको रिहाइ र सरकार पुनःस्थापित गर्न माग गरेका छन् । सेनाले भने पछिल्लो चुनावमा धाँधली भएको बताउँदै शासनसत्ता आफ्नो कब्जामा लिएको छ । यद्यपि सेनाले अहिलेसम्म धाँधली भएको एउटा पनि प्रमाण पेश गर्न सकेको छैन । -एजेन्सी ।

प्रतिक्रियाहरु