म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु

२०७७ फाल्गुन १७ गते, सोमबार

काठमाडौं । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ । गोली प्रहारलाई संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन भनेको छ । मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ । उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ ।
यांगुन, दवेई र मन्डाले शहरमा भएको प्रदर्शनमा सेनाले गोली चलाएको हो । प्रदर्शनलाई दबाउन सेनाले रवरका गोली, अश्रु ग्यास समेत प्रहार गरेको थियो । सामाजिक सञ्जालहरूमा सार्वजनिक भिडियोमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिएको छ । प्रदर्शनकारीले प्रहरी दमनबाट आन्दोलन नरोकिने बताएका छन् ।
फ्रबुअरी एकमा सेनाले शासन सत्ता हातमा लिएदेखि नै म्यानमारमा प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीले आङ सान सू ची लगायत अपदस्थ गरिएका तत्कालीन सरकारका नेताहरूलाई रिहा गर्न माग गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु