सहिद गेटमा लखन थापालाई राख !

२०७७ फाल्गुन १६ गते, आईतवार
नारायण शर्मा

सहिद गेटको शिरमा राजा त्रिभुवनको सालिक राखेको पटक्कै सुहाएको छैन । नसुहाएको मात्र होइन, हास्यास्पद समेत भएको छ । एउटा विदेशी पर्यटकले यी शहीदहरुबारे परिचय लिनेक्रममा त्रिभुवनको सालिकतर्फ संकेत गर्दै “who killed him ?” भनेर प्रश्न गर्दा नेपाली गाइड नाजवाफ भै “no one killed but he is our father of nation.” भनेर जवाफ दिँदा उनी हाँसेर मजा लिएका थिए भन्ने एउटा सत्यकथाको रुपमा यो कुरा निकै लज्जास्पद भएर पनि यद्यपि देशविदेशमा समेत प्रचलित रहेको छ । प्रथमतः त्रिभुवन राष्ट्रपिताको रुपमा विवादित छन् । दोस्रो, गणतन्त्र कालमा त उनलाई राष्ट्रपिता भन्नू अर्को हास्यास्पद कुरा हुन जान्छ । तसर्थ त्रिभुवनको सालिक त्यहाँबाट तत्काल हटाउनै पर्छ ।

यो देशमा गणतन्त्र छ र सरकार पनि गणतान्त्रिक नै हो भने राजा त्रिभुवनको त्यो सालिक सहिदगेटबाट तुरुन्त हटाऊ ! यदि तिमीले पुरानो इतिहास, ऐतिहासिक विचार, विधि र व्यक्तिलाई उचित तरिकाले संरक्षण र अभिलेखीकरण गर्न चाहन्छौ भने त्यो सालिकलाई म्युजियममा लगेर राख ! सच्चा सहिदको टाउकामाथि चढाएर कृत्रिम सहिद अर्थात् सहिद नै नभएका, त्यसमा पनि राजा, त्यो पनि आफ्नो गद्दीको लागि लड्न नसकेर विदेशीको शरणमा पुगेपछि भारतले पुनस्र्थापित गरिदिएका राजा त्रिभुवनलाई त्यहाँ त्यसरी राख्ने नै होइन, यो त “न शोभन्ते सभामध्ये हंसमध्ये वको यथाः” भनेभन्दा पनि बढी भो ।

होइन, राजा त्रिभुवनलाई वा जोकसैलाई पनि उनको कुनै योगदानको आधारमा सम्मान नै गर्न चाहने भने कुनै अर्को सार्वजनिक स्थानमा प्रतिस्थापन गर्नुपर्छ, गर तर राजा त्रिभुवनको सालिकलाई त सहिदगेटमा एकदिन त के एक छिन पनि नराख । यो काम तिमीले उहिल्यै गरिसक्नु पथ्र्यो तर गरेनौँ नि सरकार ! तिमीलाई यो ज्ञान आएन कि राजा त्रिभुवनप्रति तिमी ल्वायल छौ–भयौ, अथवा त्यो हटाउँदा केही अनर्थ हुन्छ कि भनी डरायौ ? त्यो त थाहा भएन । जे भए पनि र झापाली जनविद्रोह र माओवादी जनयुद्ध हुँदै जनआन्दोलन गरेर देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएका भन्नेहरु सरकारमा विराजमान पनि हुने अनि नेपालका सच्चा र सर्वमान्य प्रथम सहिद लखन थापालाई त्यो शीर्षस्थानमा नराखेर सहिदै नभएका, कसैले पनि नमारेर आफ्नै कालगतिले मरेका राजा त्रिभुवनलाई राख्ने ? यो त सहिदको हदैसम्मको अपमान भयो । एकातिर लखन थापालाई त्यहाँ नराखेर लखनको अत्यन्तै अपमान भएको छ भने अर्कातिर गङ्गा, शुक्र, दशरथ र धर्मभक्तको शिरमा राजा त्रिभुवनलाई राखेर यी चार सहिदको मात्र होइन, पूरै सहिदहरुको समेत ठूलो अपमान भएको छ । यसरी यो अपमान लखन थापा विद्रोहदेखि यताका भीमदत्त पन्तको किसान विद्रोह, कामी बुढाको विद्रोह, डा. के. आई. सिंहको विद्रोह लगायत स्वयं झापाविद्रोह र माओवादी विद्रोहसमेत सबै क्रान्तिकारी विद्रोह, ती विद्रोह गर्ने नेता, कार्यकर्ता र जनता अनि सिङ्गै नेपाल राष्ट्रकै अपमान र बेइज्जत पनि हुन पुगेको छ । स्मरण रहोस् सरकार, तिम्रो पनि कुनै मानसम्मान, मूल्यमान्यता, इज्जत–प्रतिष्ठा, अर्थ र महत्व छ भने यो तिम्रो पनि ठूलो अपमान र बेइज्जत हो ।

तत्कालीन नेकपा माओवादीले ऐतिहासिक झापा विद्रोह र माओवादी जनयुद्धलाई समुचित संयोजन, मूल्यांकन, सम्झना र सम्मान गर्ने गरी फागुन १४ र २१ लाई सहिद सप्ताहको रुपमा मनाउने निकै दूरगामी महत्वको सही र न्यायपूर्ण क्रान्तिकारी निर्णय गरेको थियो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सहादत भएको दिन फागुन १४ (२०५२) र झापा आन्दोलनका पाँच सहिदहरुले सुखानीमा वीरगति पाएको दिन फागुन २१ (२०२८) लाई जोड्नु अत्यन्त उचित र आवस्यक कार्य थियो त्यो । हो त्यही सहिद सप्ताह अहिले चलिरहेको छ । सक्छौ भने यही सहिद सप्ताहभित्रमा अर्थात् यही २१ गतेसम्ममा राजा त्रिभुवनको सालिक सहिद गेटबाट हटाएर त्यो ठाउँमा सर्वमान्य प्रथम सहिद लखन थापालाई प्रतिस्थापन गर । कथंकदाचित २१ फागुनसम्म त सक्तैनौ भने पनि कमसेकम फागुन महिना (१९३३ फागुन २) नै लखन थापा पनि सहिद भएको महिना हुनाले यसै फागुन महिनाभित्र यो काम अविलम्ब सम्पन्न गर । यदि यस्तो ऐतिहासिक महत्वको र राष्ट्रिय गर्व र गौरवको कार्य यो सरकारले गर्न सक्तैन भने निकट भविष्यमा बन्ने सरकारले यो काम सकेसम्म त यही फागुनमै नसके–नभए अर्को वर्षको सहिद सप्ताह वा लखन थापाकै सहादत भएको दिन फागुन २ गते त जसरी पनि गरोस् । आगामी सरकार जनताको सरकार रहेछ भने त्यसले नै सम्पूर्ण सहिद र सहादतको, विद्रोह र विद्रोहीको अनि क्रान्ति र क्रान्तिकारीहरुको बलिदान र योगदानको समुचित सम्मान गरोस् । होइन भने, जहिले वास्तविक जनताको सच्चा सरकार आउने छ, त्यतिबेला नै जनताको सरकारले यो महान् तर सजिलो काम सम्पन्न गर्नेछ । कथम् त्यसले पनि खुट्टा कमाएछ भने स्वयं जनताले हस्तक्षेप गरेर यो काम सम्पन्न गरिछाड्ने छन् । होश भया !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु