ईयूमा ‘भ्याक्सिन पासपोर्ट’

२०७७ फाल्गुन १४ गते, शुक्रबार


काठमाडौ । युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले ईयूका अन्य सदस्य राष्ट्रलाई भ्याक्सिनेसन पासपोर्ट स्वीकार्न आह्वान गरेका हुन् । यो पासपोर्टको प्रयोगले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने अपेक्षा गरिएको छ । दुबै देशले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन प्रस्ताव गरेका हुन् । प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि बिना रोकतोक घुम्न पाउने उल्लेख छ । भ्याक्सिन पासपोर्ट लागू गर्नेमा सहमति भने जुट्न बाँकी छ ।
फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन् । खोप लगाएको व्यक्तिले भाइरस लिएर हिँड्न सक्ने तथा उसले अरूलाई भाइरस सार्न सक्ने वा नसक्नेबारे स्पष्ट नभएकाले पासपोर्ट व्यवहारिक नहुने उनीहरुको भनाइ छ । यस्तो राहदानीले सीमित व्यक्तिलाई मात्र विदेश यात्रा गर्न दिने भएकाले भेदभावपूर्ण हुने चिन्ता पनि प्रकट गरिएको छ । ग्रीस र इजरायलले अहिले नै डिजिटल खोप प्रमाणपत्र दिएका छन् ।
डेनमार्क र स्वीडेनले पनि त्यस्तै प्रमाणपत्र विकास गर्नेबारे कुरा गरिरहेका छन् । भविष्यमा एकखाले ग्रीन भ्याक्सिनेसन सर्टिफिकेट आवश्यक हुनसक्ने कुरामा युरोपका अधिकांश देशहरू सहमत छन् । – एजेन्सी

प्रतिक्रियाहरु