माटोको डिजिटल नक्सा तयार !

२०७७ फाल्गुन १३ गते, बिहीबार


काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जि.पि.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । उक्त नक्साको बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्साको समुद्घाटन गरेका छन् । मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो ।
दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार गरिएको छ । ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो । देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परिक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्छन् । नक्सांकन कार्यले किसानमात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ ।

प्रतिक्रियाहरु