इरानद्वारा राष्ट्रसंघलाई परमाणु केन्द्रको आकस्मिक निरीक्षणमा रोक

२०७७ फाल्गुन १० गते, सोमबार


काठमाडौँ । इरान राष्ट्रसंघीय अनुगमनकर्तालाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन सहमत भएको छ । इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी ‘आईएईए’का प्रमुख राफाएल ग्रोसीले निरीक्षणकर्तालाई अब अनुगमनको कम मात्र पहुँच हुने गरी सहमति भएको भन्दै निरासा ब्यक्त गरेका छन् । ग्रोसीले तीन महिने सम्झौता अस्थायी भएको भन्दै स्थिर र दिगो अवस्था बनाउनका लागि राजनीतिक सम्झौता हुनुपर्ने आवश्यकता औंल्याएका छन् । सहमति अनुसार अब अनुगमनकर्ताले आकस्मिक निरीक्षण गर्न समेत पाउने छैनन् ।
गत वर्ष इरानले दुईवटा शंकास्पद क्षेत्रमा आईएईएका अनुगमनकर्ताहरूलाई जान रोकेको थियो । इरानले मङ्गलबारबाट निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्न लागेको छ ।
सन् २०१५ मा भएको परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटनुका साथै प्रतिबन्धहरू कायमै राखेकाले इरानले यो कदम चालेको हो । आईएईएसँगको सम्झौतापछि अब तेहरान र वाशिङ्गटनलाई सम्झौतामा पुग्न थप तीन महिना समय प्राप्त भएको छ । ट्रम्प प्रशासनले इरानमाथि पुनः प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौता अनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि शुरु गरेको छ । इरानले अमेरिका सो सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्ने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले इरानले पहिले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने बताएका छन् । इरानको परमाणु कार्यक्रम करिब २० वर्षदेखि अन्तर्राष्ट्रिय मुद्दा बन्दै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु