अखिल (क्रान्तिकारी) द्वारा बलत्कार र हत्या गरिएकाहरुको न्यायको माग गर्दै दीप प्रज्वलन

२०७७ फाल्गुन १० गते, सोमबार


काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक लगायत सम्झनामा देशका बिभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले आइतबार साँझ बलत्कार र हत्या गरिएकाहरुको न्यायको माग गर्दै दीप प्रज्वलन गरेको हो ।
यसैक्रममा , अखिल (क्रान्तिकारी) का भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर विकका अनुसार बाँके जिल्ला समितिले नेपालगंजको सेतु विक चोक र कोहलपुर चौराहमा दीप बालेर पीडितलाई न्यायको माग गरेको छ । संगठनको सुर्खेत जिल्ला समितिले विरेन्द्रनगरस्थित मंगलगढी चोक र मध्यपश्चिम विश्वविद्यालय अगाडि दीप बाल्दै अखिल (क्रान्तिकारी) का नेताहरुले पीडित छात्राको सम्झना गर्दै न्याय नपाए संगठन संघर्षमा उत्रिने बताएका थिए ।
त्यसैगरी अखिल (क्रान्तिकारी) को अगुवाईमा विद्यार्थीहरुले जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, बर्दियालगायत भेरी कर्णालीका सबै जिल्लामा दीप प्रज्वलन गरेका छन् । सबै जिल्लाका सदरमुकाम, बजारमा दीप प्रज्वलन गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
यसैगरी , अखिल (क्रान्तिकारी) दाङले घोराहीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । भागरथी भट्ट लगायत देशैभरी पीडित छात्राहरुको न्यायको निम्ति केन्द्रीय समितिद्वारा घोषणा गरिएको संघर्षका कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी) दाङले घोराहीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) दाङ जिल्ला संयोजक अनिलले रामबहादुर गृहप्रशासनले शान्ति सुरक्षाको ग्यारेन्टी गर्ने काममा असफल भएको जिकिर गर्नुभयो । निर्मला पन्त, सम्झना विक, भागरथी भट्ट लागायत छात्राहरु बलात्कार पछि हत्या भएका बीभत्स लासहरु देख्दा पनि सरकार जिम्मेवार नभएको भन्दै त्यसको घोर विरोध गरे ।
अखिल (क्रान्तिकारी) केन्द्रिय समितिले फागुन ४ गते देशैभरी भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरु माथिका घटनाका दोषीलाई कडा कार्बाहीको माग गर्दै चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जस अन्तर्गत फागुन ९ गते देशब्यापी दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रियाहरु