मेलम्ची खानेपानीको सुरुङमा पानी भरिदै

२०७७ फाल्गुन १० गते, सोमबार


काठमाडाैँ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी हालेर परीक्षण गरिन लागिएको छ । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो । “विशेषज्ञहरुले निरीक्षण गर्नुभयो, उहाँका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भयो”, आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले बताए ।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार