नयाँ उखान ‘साँढेको जुधाइ बाच्छाको उदाइ’ को रुपमा सार्थक हुने अवश्यम्भावी

२०७७ फाल्गुन ९ गते, आईतवार
नारायण शर्मा

हाम्रो समाजमा एउटा उखान छ : साँढेको जुधाइ, बाच्छाको मिचाइ !हाल देसमा दुई ध्रुबीय लडाई भीषण नै भैरहेको छ ! एउटै पार्टी नेकपाका दुई गुटमा साँढे नेताहरुका व्यक्तिवादी महत्वाकांक्षी सोंच र स्वार्थका कारण पदीय विभाजन नमिलेर भएको चालू लडाइँ चरम अवस्थामा छ ! यसै लडाइको उत्कर्षस्वरुप विघटन भएको संसदको पुनर्स्थापना वा मध्यावधी भन्ने विषय अहिले यो लडाइको केन्द्रीय विषय बनेको छ । यस्ले गर्दा दुई पार्टी मात्र होइन करिब करिब देस नै दुई फ्याकमा विभाजित हुन पुगेको छ र यी दुई फ्याकमा एकले अर्कालाई निषेधै गर्ने हदसम्म साँढे जुधाइ भैरहेको छ ! यो साँढे जुधाइमा एकथरी मानिसहरुलाई यिन्को लडाइँले साना शक्तिहरु मात्र होइन कि देसै मिचिने हो कि भन्ने चिन्ता बढेको छ भने अर्काथरी केही साना शक्तिहरुलाई यी दुई ठुला साँढेहरुको जुधाइमा परेर आफै मिचिइने पो हो कि कतै भन्ने जगजगी बढेको छ ! त्यसैले यी मानिसहरुले हाम्रो प्रचलित उखान “साँढेको जुधाइ बाच्छाको मिचाइ” जहाँपनी र जहिलेपनी प्रयोग गरिरहेका छन् र अत्यन्त छट्पटाइरहेका छन् ! यो स्थितिमा हामीले एउटा क्रान्तिकारी मार्क्सवादी हुनुको नाताले प्रस्तुत उखानलाई आलोचनात्मक र रचनात्मक रुपले हेर्नुपर्ने भएको छ । यसरी हेर्दा अहिले उक्त पुरानो उखानमा पनि परिवर्तन र परिमार्जन गर्नु पर्ने देखिन्छ । यसक्रममा यो उखानमा नितान्त नयाँ जीवनशील र उर्जाशील पक्ष दृष्टिगोचर हुन्छ !
देसमा राजनीतिक क्रान्तिसङ्गै आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्ती पनि जरुरत पर्दछ ! त्यसै सिलसिलामा पुराना विचार र बुझाइ, विधि र विधान, व्यवस्था र व्यवहार, पद्धति र प्रक्रिया, सदन र सरकार, शिष्टता र सभ्यता, संस्कार र संस्कृति, मूल्य र मान्यतासङ्गै उखान र टुक्काहरुमा पनि स्वाभाविक र सचेत बदलाव र विकास पनि जरुरी हुन्छ र गर्नुपर्छ ।
शीर्षस्थ उखान हाम्रो पुरानो उखानको परिवर्तित, परिमार्जित र परिबर्द्धित रुप हो ! यसप्रकारका उखान-टुक्काहरुमा पनि सामाजिक-साहित्यिक सोंच र सांगठनिक-सांस्कृतिक संस्कार सङ्गै क्रान्ती गर्नुपर्ने समेत हुन्छ ।
क्रान्तिकारी विचार र बुझाइको सुरुवातका बेला र अवस्थामा साँढेको जुधाइ बाच्छाको मिचाइ भनिन्थ्यो । त्यो एक हदसम्म सत्य पनि थियो र केहीहदसम्म त्यो अझै पनि सत्यनै प्रतीत हुन्छ । तर परिवर्तन र क्रान्तिको प्रकृयासङ्गै यो उखानको शब्दमा मात्र होइन, सारमै फरक पर्न थाल्यो ! यसको विश्लेषण र संश्लेषण, हेराइ र बुझाइ अनि व्यवहार र भोगाइमा समेत अन्तर पर्न थाल्यो !
र, अहिले उक्त उखानलाई “साँढेको जुधाइ बाछाको उदाइ”को रुपमा दिग्दर्शन, स्मरण र अवलम्बन गर्न थालिएको छ र थालिनु नै पर्दछ ! पुरानो उखान स्थूल तर आंशिक र मात्रात्मक सत्य हो भने नयाँ उखान सूक्ष्म तर पूर्ण र गुणात्मक सत्य हो । यसमा अन्तर देख्ने कुरा हाम्रो दृष्टि र दृष्टिकोणमा भर पर्ने कुरा हो ! रातो चस्मा लगाएर हेरे कुनै पनि चीज रातो देखिने र पहेंलो चस्मा लगाएर हेरेमा पहेंलो देखिने गरेजस्तै पनि हो !
तसर्थ अब सच्चा मार्क्सवादी क्रान्तिकारी चस्मा लगाएर नयाँ उखानको व्याख्या र बुझाइ वा सच्चाइ र स्वीकृतितर्फ लागौं त के कस्तो देखिन्छ ? वास्तवमा गहिरिएर हेर्ने र बुझ्ने प्रयत्न गर्ने हो भने दुई ठुला र बूढापाका साँढेहरु आपसमा जुद्धा बाच्छाबाच्छी मिचिने सम्भावना भन्दा साँढेहरुकै टाङ र आङमुनि छिर्दै र छिप्दै बाच्छाबाच्छीहरु नमिचिएर बाँच्ने गरेका पाइन्छन् ! तिनै बल्लतल्ल बाँचेका बाच्छाहरु नै भविष्यमा बढ्ने र बलियो हुने गरेर तिनै आलाकाँचा बाच्छाहरुले नै ती बूढापाका साँढेहरुमाथि विजय गर्दै तिन्लाई विस्थापित गर्ने कुरा पनि हुँदै आएको सजीव सत्य र यथार्थ अनुभव जीवन र जगतमा गरिएकै समेत छ । आमरुपमा यही हुँदै आएको छ र त अहिलेसम्म गाईको वंश नास भएको छैन बरु वृद्धि नै भएको छ ! यदी कुनै गाईको वंश नास भइ नै हालेको भए पनि बाच्छाको मिचाइ भएर होइन, त्यो अरु नै कारणले हुने गरेको छ । वास्तवमा बाच्छो नयाँ र उदीयमान सत्य र शक्तिको प्रतीक हो । तत्काललाई बाच्छो सानो र कमजोर भएपनी दीर्घकालमा कालक्रमसङ्गै सानो ठूलो हुने, कमजोर बलियो हुने तर ठूलो भने सानो हुने र बलियो कमजोर हुने भएको यथार्थ जगजाहेर नै छ ! यो प्रकृतिको अपरिवर्तनीय, अनुल्लङ्घनीय, अनिवार्य र अपरिहार्य नियम नै हो ।
प्रस्तुत उखानको सन्दर्भ हालको हाम्रो राजनीतिक परिवेशमा पनि हुबहु नै लागू हुन्छ र गर्नु पनि पर्दछ । यसको सुरुवाती संकेत अस्तिमात्र बुटवलमा साना चार वामपन्थी दलले एउटा कार्यक्रममार्फत दिइपनि सकेका छन् ! आशा गरौं देसमा अहिले दुई अजङ्गका साँढेरुपी राजनीतिक शक्ति र व्यक्तिहरु बीच भैरहेको यो लडाइँमा विदेसी महासाँढेहरु पनि सम्लग्न हुँदा साना र कमजोर देखिएका बाच्छारुपी क्रान्तिकारी शक्ति र राष्ट्रहरु पूर्णत: थिंचोमिचोमा पर्ने चरम खतराका बीचबाट बच्दै र बढ्दै उदीयमान र जाज्वल्यमान रुपमा आउने छन् ! यसले स्पष्ट संकेत गरेको छ कि ढिलो-चाँडो अहिलेका यी देसी-विदेसी ठुला साँढेहरु पराजित हुनेछन् र स्वदेसी साना बाच्छाहरु विजयी बन्नेछन् ! यो अवस्थामा “साँढेको जुधाइ बाच्छाको मिचाइ” भन्ने पुरानो उखान नयाँ उखान “साँढेको जुधाइ बाच्छाको उदाइ” को रुपमा सार्थक हुने अवश्यम्भावी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु