‘नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध तत्काल खारेज गर’

२०७७ फाल्गुन ७ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीको रणनैतिक संयुक्त मोर्चाले बुटवल को ट्राफिक चोक, बुटवलमा विशाल जनसभा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषि कट्टेलको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सो सभालाई सम्बोधन गरेका थिए । सो जनसभालाई सम्बोधन गर्दै सबै वक्ताहरुले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध तत्काल खारेज गर्न माग गरेका थिए ।
सो जनसभालाई सम्बोधन गर्दै नेकपाका नेता भेषराज भुषालले ओली सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्नु पर्नेमा जोड दिए । उनले बिनाकारण गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्नुपर्ने र राजनीतिक समस्याको हल राजनीतिक तरिकाले नै खोज्न ओली नेतृत्वको सरकारलाई आग्रह गरे ।


यसैगरी ,अर्का वक्ता तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले हाल देखिएको राजनीतिक संकट संसदीय व्यवस्थाकै संकट हो भन्दै संसद ब्युताएर मात्रै समाधान ननिस्कने बताए । उनले सरकारभन्दा बाहिर रहेका क्रान्तिकारी र देशभक्त शक्ति सम्मिलित राष्ट्रिय सहमतिको सरकार बनाएर हल खोज्नु पर्नेमा जोड दिए ।

यसैगरी , नेकपाका अध्यक्ष ऋषि कट्टेलले हालको व्यवस्थाकै कारण राजनीतिक संकट देखा परेको बताए । नेता कट्टेलले आफूहरुले बनाएको मोर्चाले अबको राजनीतिक समस्याको समाधान दिने दाबी गरे । अर्का वक्ता तथा नेकपा क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीषले आफूहरुले नेपालको संसदीय व्यवस्थाको विकल्प दिने राजनीतिक धारको विकास गरेको बताउँदै यही धारमा आवद्ध राजनीतिक पार्टीका नेताहरुले नै नेपालको राजनीतिको समस्याको समाधान दिने ठोकुवा गरे ।

यसैगरी राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनीले हाल नेपालको राजनीतिमा देखिएको समस्या हल गर्नका लागि ४ कम्युनिस्ट पार्टीले रणनीतिक मोर्चा बनाएकोमा सो मोर्चाको सफलताको कामना गरे । उनले मोर्चामा ४ पार्टीभन्दा बाहिर रहेका देशभक्तलाई पनि आवद्ध गर्नुपर्ने सुझाव दिए । सो मोर्चाले संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि निश्चित कार्यक्रम बनाएर अघि बढ्नु पर्ने र जनतालाई गोलबन्द गर्दै लानु पर्नेमा नेतालाई सुझाव दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु