सैन्य ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्ष कैद सजाय !

२०७७ फाल्गुन ४ गते, मंगलवार


काठमाडौँ । म्यानमारको सैन्य सरकारले विरोध प्रदर्शन गर्नेविरुद्ध नयाँ कानुन लागू गरेको छ । सैन्य सरकारले ‘कू’को विरोध गर्ने मानिसलाई २० वर्षको कैद सजाय हुनेगरी सो कानुन जारी गरेको हो । सरकारले जारी गरेको विवरणमा सैनिक बलमाथि अवरोध पुर्‍याउने जो कोहीलाई उक्त सजाय हुने भनिएको छ । ‘कू’ गर्ने प्रक्रियामा संलग्न भएका सैनिक अधिकारीलाई गाली बेइज्जती गरे तथा उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरुको सजाय अझ थप हुने र जरिवना पनि तोकिने भएको छ ।
म्यानमारका विभिन्न शहरमा सेनाका बख्तरबन्द गाडी देखिएकै समयमा यहाँको कानूनमा परिवर्तन भएको घोषणा गरिएको हो ।
यसैबीच म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् । स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी एनएलडी समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु