नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधान

२०७७ माघ ११ गते, आईतवार

नारायण शर्मा

लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवादोन्मुख भनिएको पनि छ । अझ त्यस अघि नै सबैजसो दलका घोषणापत्र, विधान र पारित प्रतिवेदनहरुमा सबैको लक्ष्य पनि समाजवाद नै रहिआएको छ । तर, विडम्बना ती कागजमै सीमित हुने अनि व्यवहारमा भने उही पुरानो मक्किएको र नेपालमा बारबार असफल भई देश अस्थिरता, अराजकता, अन्योल र अकर्मण्यतामा फसेर विदेशी शोषण र हस्तक्षेपको सिकार बनाउँदै गरिबी, भोकमरी र पछौटेपनको आहालमा डुब्ने स्थिति बनेको छ । यसैको पछिल्लो परिणामस्वरूप अहिले नेकपाका प्रधानमन्त्री ओलीले आफ्नो दलको दुई तिहाई जति बहुमत भएको संसद् विघटन गरेका छन् र देश पुनः द्वन्द्व र अराजकताको भुमरीमा फसेको छ । तर, पनि यतिबेला सरकारदेखि सडकसम्म सबैका सबै राजनीतिक दल, संघसंस्था र व्यक्ति–व्यक्तित्व भनिनेहरु संसदीय मध्यावधि चुनाव गराएर होस् वा पुरानै संसद् पुनस्र्थापना गरेर होस् । उही संसद्, संसदीय व्यवस्था र संसद्वाद अर्थात् माक्र्सवादी समाजवादको गला घोट्ने वाद, विचार, विधि र बाटो, व्यवस्था र व्यक्तिकै पक्षमा छन् । विचित्रै लाग्छ कि अहिले सडकमा देखिएकाहरु चाहे ती संवैधानिक राजतन्त्रात्मक व्यवस्थाका पक्षधर होऊन् वा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका पक्षधर होऊन् अथवा मध्यावधि वा संसद् पुनस्र्थापनाका पक्षधर होऊन्, ती सबै अन्ततः र सारतः उही नेपालमा असफल र अफापसिद्ध भइसकेको पुरानै संसदीय व्यवस्थाकै पृष्ठ र पक्षपोषक नै हुन् । अझ पछिल्लो कालसम्म आइपुग्दा यो पुरानो पुँजीवादी प्रतिकृयावादी व्यवस्थाको रुपमा स्थापित यो संसदीय व्यवस्थामा धेरै नै विकृति र विसङ्गतिहरु बढ्ने र विकसित हुने गर्नाले यसको आजको चरित्र पूर्णतः निरंकुश, सर्वसत्तावादी र फासीवादी नै बन्न पुगेको छ । त्यसैको प्रतिफलस्वरुप नै यतिबेला देशले यो पछिल्लो अस्थिरता, अस्तव्यस्तता र सम्भावित विस्फोट वा विद्रोह बेहोर्न जाँदैछ । त्यसैले यस भीषण र भयावह अवस्थाबाट देश र जनतालाई बचाउनको लागि एउटा वैकल्पिक देशवादी र जनतावादी स्वच्छ क्रान्तिकारी व्यक्ति, शक्ति, सरकार, विधि र बाटो, विधायिका, विधान र व्यवस्थाको परम आवश्यकता खट्किरहेको छ । किनभने देशमा हालीमुहाली गर्ने र देश डुब्ने गराउने यिनै व्यक्ति, शक्ति, विधि र बाटो, विधाइका, विधान र संविधान व्यवस्था अर्थात् समग्रमा संसद्वाद र संसदीय सत्ता नै हुन् । त्यसैले यी सबै अहिले चरम् विवाद र विरोधका बीचमा मत्र होइन, विस्फोट र विद्रोहको परिपक्व अवस्थामा समेत छन् । तथापि ती सबैको समुच्च विकल्प एउटा सच्चा देशवादी र जनतावादी समाजवाद हुनसक्ने र त्यसको स्थापना, विकास र कार्यान्वयनसमेत गर्नसक्ने सुनौलो परिस्थिति देशमा सिर्जना भएको छ । तर, त्यस्तो कार्यभार पूरा गर्ने वैकल्पिक क्रान्तिकारी शक्ति र नेतृत्वको चरम खडेरी परेको अनुभूत भएको पीडादायक स्थिति छ । यद्यपि जनवादी समाजवादी वा वैज्ञानिक समाजवादी बाटो लिएका कतिपय शक्ति र व्यक्ति–व्यक्तित्वहरु जीवित नभएको होइन, तथापि तिनले सबै नजिकका मित्रशक्ति, संघसंस्था र संगठनहरुलाई विभिन्न किसिमले समेटेर एकीकृत र केन्द्रीकृत रुपमा मुख्य अवरोधक दुश्मन शक्ति विरुद्ध प्रहार केन्द्रित गर्ने कुरामा स्पष्ट र धारिलो सोच र सामथ्र्य हासिल गरेका छैनन् । तिनका मुख्य नेताहरुमा रहेका देश, काल र परिस्थिति अनुकूलको राजनीतिक कार्यदिशा, वर्गीय कार्यक्रम र व्यवहारिक कार्यान्वयनको अभावका अतिरिक्त उनीहरुमा रहेका संकीर्ण वा उदार, सुधारवादी वा स्वार्थी, कठमुल्लावादी वा अवसरवादी, अहम्वादी वा व्यक्तिवादी अनि कायर वा दुस्साहसवादी सोच, शैली र संस्कारजन्य कमीकमजोरीले गर्दा उनीहरुले त्यो सामथ्र्य प्राप्त गर्न नसकिरहेका हुन् । अझ विचित्र विडम्बना के भैरहेछ भने यस्तो सुनौलो अवसरमा आपूmलाई वैकल्पिक सत्ता, व्यवस्था र सरकारका हिमायती बताउने समाजवादी मात्र होइन, साम्यवादी कम्युनिस्ट शक्तिहरु नै यतिबेला कि त सुतिरहेका छन्, कि भने अन्यौलमा परिरहेका छन् वा हार–हरेस खाएर निरास, निष्क्रिय र निस्प्राण भैरहेका छन् । यहाँसम्म कि २३ वाम दलीय कार्यगत एकताको मोर्चा मात्र होइन, चार दलीय कम्युनिस्ट पार्टी स्तरीय रणनीतिक संयुक्त मोर्चा नै बनाएर वैकल्पिक सत्ताको लागि लड्ने भन्ने बैज्ञानिक समाजवादीहरु त झन् किम्कर्तव्यविमूढ भएर कोही संघर्षको मैदान छोडेका जस्ता छन् भने कोही घुमाइ–फिराई ढिलोचाँडो यो वा ऊ तर्क, वितर्क र कुतर्क गरेर एउटा–एउटा बहाना बनाउँदै संसद् पुनस्र्थापनाका पक्षमा जाँदैछन् जस्तो देखिएकोछ ।

सिद्धान्त र विधान–संविधानमा समाजवाद र वैज्ञानिक समाजवाद लेख्ने वा देख्ने कम्युनिस्ट शक्तिहरु नै किन आज यसरी सडक, सदन, सरकार र सत्तामा रहेका वा नरहेका पनि चरम संसद्वादी भएर धेरै पहिले विश्वस्तरमा र नेपालमै पनि पूरै प्रतिकृयावादी र दलाल प्रमाणित भइसकेका संसद, संसदीय सरकार, संसदीय व्यवस्था र संसदीय सत्ताका लागि रक्षाकवच बनिरहेका छन् ? दुखद् आश्चर्यको कुरा भएको छ । यसैगरी, संसदीय सत्ताका यो वा ऊ गुटका हिजोका कट्टर विरोधीहरु जसले एकअर्कालाई नम्बर एक दुश्मन जस्तो देखेर उग्रवादी र आतंककारी भन्ने वा दक्षिणपन्थी र प्रतिकृयावादी भन्नेहरु पनि किन आज यसरी एकले अर्कालाई बेहिचक अन्धाधुन्ध समर्थन गरिरहेका छन् र आपसमा प्रशंसाको पुल बाँधिरहेका छन् ? अनि हिजो एउटै आँत र एउटै पेट भएका तर समुद्री चरो भारण्ड जस्तो एक पेट दुई मुख भएका नेता, गुट र पार्टीहरु पनि आज किन यसरी आपसमा गालीगलौजको फोहोरी राजनीति गरेर राजनीतिक जगतलाई नै दुर्गन्धित र बद्नाम गरिरहे छन् ? प्रश्न गम्भीर छ । जान वा अन्जान रुपमा यी सबै साम्राज्यवादी–विस्तारवादीहरुका षड्यन्त्र र चलखेलमा फसेका वा तिनका कोपभाजनका सिकार भएका त छैनन् ? गम्भीर आशंका गर्ने आधार तयार भएको छ ।

यस्तो गम्भीर, संवेदनशील र खतरनाक स्थिति र अवस्थाको बोध गरी जिम्मेवारी बहन गर्नु–गराउनु पर्ने पाकापुराना, माक्र्सवादी सिद्धान्त र दर्शन सर्लक्कै खाएर पचाएका स्थापित नेता र तिनका पार्टी– संगठनहरुले नै आज केही पनि न गरिरहेको देख्दा उदेक लागेर आउँछ ।

यति मात्र पनि होइन, वर्तमानको सही र क्रान्तिकारी वैकल्पिक व्यक्ति, शक्ति, सरकार, विधायिका, विधि र बाटो र व्यवस्थाबारे उहाँहरुलाई हामीले बारबार घच्घचाउँदा र ठोस्दा पनि पटक्कै सुन्न–मान्न पनि तयार नहुनु आश्चर्यको विषय बनेको छ । जब कि नेपालमा बारम्बार दोहोरिने यस प्रकारको क्रोनिक समस्याको स्थायी र दीर्घकालीन समाधानको लागि वैकल्पिक शक्तिको रुपमा एक बृहत् क्रान्तिकारी संयुक्त मोर्चा, वैकल्पिक सरकारको रुपमा अन्तरिम राष्ट्रिय क्रान्तिकारी सरकार, वैकल्पिक विधायिकाको रुपमा सर्वोच्च अन्तरिम क्रान्तिकारी सभा (व्यवस्थापिका), वैकल्पिक विधि र बाटोको रुपमा संयुक्त निर्णायक क्रान्तिकारी जनआन्दोलन र वैकल्पिक व्यवस्थाको रुपमा क्रान्तिकारी र राष्ट्रिय समाजवादोन्मुख अग्रगामी अस्थायी–अन्तरिम क्रान्तिकारी व्यवस्था हुनसक्ने कुरा बारम्बार छलफल गरिरहिएको छ ।

उक्त वैकल्पिक अन्तरिम सर्वोच्च र सर्वशक्ति सम्पन्न सभा अर्थात् जनप्रतिनिधिसभा (व्यवस्थापिका र विधाइका) ले व्यापक आन्तरिक र बाह्य बहस, अन्तरक्रिया र संघर्षका बीचबाट राष्ट्रिय क्रान्तिकारी समाजवादी संविधान निर्माण गरी देशको आगामी दिशा र दसाको सुनिश्चित गर्नेछ भन्ने हाम्रो भनाइ रहिआएको छ । तथापि यी समग्र प्रस्तावित विषय र विधिका बारेमा बृहत् बहस, विवाद र अन्तरक्रिया गरेर यिनमा परिमार्जन र पूर्णता ल्याउन सकिने कुरा स्वतः स्वभाविक र सहज नै छ । त्यसैले स्पष्ट छ कि यो अवस्थामा आज आपूmलाई वामपन्थी, देशभक्त र क्रान्तिकारी बताउने परिचित र स्थापित व्यक्ति–व्यक्तित्व र नेतृत्वहरु र उनीहरुका शक्ति–संगठनहरुले आफ्नो अस्तित्व, व्यक्तित्व, नेतृत्व र वक्तृत्वलाई अग्रगामी निकास र नेपालको यस प्रकारको समस्याको स्थायी समाधानको लागि पूरजोरका साथ प्रयोग गर्नु पर्दछ भने ती मातहतका कमिटी, संघसंस्था, मंचमोर्चा र संगठनहरु तथा तिनका नेता–कार्यकर्ता र समर्थक–शुभचिन्तकहरुले सशक्त सुझाव र दवाव समेत दिनु पर्दछ । तर, सर्वाधिक दुखद् विडम्बना यो भएको छ कि त्यसो गर्न यी परिचित र स्थापित भनिएका हस्ती व्यक्तिहरु अहिलेसम्म आँटै गरिरहेका छैनन् । तैपनि हामी सबै सच्चा क्रान्तिकारी शक्ति, व्यक्ति, संघसंस्था र संगठनहरुले पूर्ण जिम्मेवारीबोधका साथ अझै उहाँहरुलाई झक्झकाउने र आन्दोलनको लागि दह्रो गरी खुट्टा टेकाउन बल गर्ने गर्नुपर्दछ । यदि कसै गरे पनि उचालेको कुकुरले मृग मार्ने सम्भावना देखिएनछ भने कुकुर बूढो र कमजोर भई सिकार गर्न असमर्थ भएको र त्यसो हुनु पनि स्वाभाविक नै भएको अन्तिम निष्कर्ष निकाली नयाँ र युवा वैकल्पिक व्यक्ति र शक्तिको सिर्जना र स्थापना गरेर अघि बढ्न हिम्मत गर्नैपर्ने हुन्छ । हेक्का रहोस्, त्यो अवस्थामा सबैजसो शक्ति र संस्थाहरुमा ठुल्ठुला विस्फोटहरु हुनेछन् र तिनमा ठूलो बगावत आउने छ । साथै तिनमा रहेका युवा क्रान्तिकारीहरुद्वारा आ–आफ्ना पार्टी–संगठन र तिनका नीति, नेतृत्व र नियतका विरुद्धमा ठूला विद्रोह हुनेछन् र एउटा असाधारण क्रान्तिकारी र राष्ट्रवादी ध्रुवीकरण हुनेछ । भनिन्छ– सानो ठूलो हुन्छ, कमजोर बलियो हुन्छ र अपरिचित र स्थापित पनि समय र आन्दोलनका क्रममा परिचित, स्थापित र स्वीकृत हुन्छ । यसैलाई हाम्रा जनजीवनका उखानरुपी संश्लेषणहरुमा भनिएको छ– मुढाको मुख झिंजाले पोल्छ, नपत्याउने खोलाले बगाउँछ, आदि चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु