राष्ट्रपति पुटिनको विरोधमा प्रदर्शन : तीन हजार बढी पक्राउ

२०७७ माघ ११ गते, आईतवार


काठमाडौँ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागी हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशव्यापी रुपमा सामाजिक सञ्जालबाट गरिएको आह्वान पछि भएको प्रदर्शनमा सहभागी भएका तीन हजार भन्दा बढी पक्राउ परेका हुन् । राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले प्रदर्शनअघि नै कयौं विपक्षी नेतालाई पक्राउ गरेको थियो । मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको थियो । चेतावनीबीच पनि मानिसहरु प्रदर्शनमा सहभागी भएका हुन् ।
अघिल्लो आइतवार उपचारपछि जर्मनीबाट स्वदेश फर्केका नाभाल्नीलाई विमानस्थलमा पक्राउ गरेपछि त्यसको अन्तर्राष्ट्रिय समुदायले पनि आलोचना गर्दै आएका छन् । गत अगस्टमा ४४ वर्षीय नाभाल्नीलाई स्नायु विषको हमला भएपछि उनी उपचारका लागि जर्मनी पुगेका थिए । त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नाभाल्नी अचेत भएका थिए । त्यसमा पुटिनको हात रहेको आरोप उनले लगाउदै आएका छन् । तर रुस सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ । गिरफ्तारीको विरोधमा ६० शहरमा प्रदर्शन हुने अनुमान गरिएको छ । नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुन् । उनलाई भ्रष्ट्राचार विरोधी अभियानकर्ताको रुपमा समेत चिनिन्छ ।
सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए । तर सरकारले उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिएको थिएन । सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा विजयी समेत भएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु