नेकपाले घमिर घटनामा संलग्नलाई कारबाही गर्ने

२०७७ माघ ११ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीका सेक्रेटरी माहुरीले शनिबार वक्तव्य जारी गर्दै मालिका गाउँपालिका घमिरस्थित देवीस्थान मावि र वडा नं. ७ को कार्यालयमा भएको घटनाबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीलाई कडा कारबाही गर्ने जनाएका छन । सेक्रेटरी माहुरीले दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदार संलग्न रहेको जनगुनासो आएको भन्दै यसबारे पार्टीले अनुसन्धान गर्ने समेत बताएका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ को कार्यालयबाट नगद चोरी, भौतिक सामग्री तोडफोड भनिएको तर पटकपटक एउटै प्रकृतिको घटना दोहोरिँदा पनि सम्बन्धित निकाय मौन रहनुले घटना रहस्यमय बन्दै गएको र स्थानीय जनताले लगाएको केराघारी फाँडेको घटना सार्वजनिक हुनुले दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदारसमेत संलग्न रहेको व्यापक जनगुनासो आएकाले यथासक्य छिटो छानबिन नगरिए पार्टीले अनुसन्धान गरी कडा कारबाही हुने माहुरीको वक्तव्यमा उल्लेख छ ।


वक्तव्यमा माहुरीले भनेका छन्, ‘गत मङ्सिर ७ गते गुल्मीको मालिका गाउँपालिका वडा नं. ७ घमिरस्थित देवीस्थान माविमा निर्माण भइरहेको नयाँ भवनको दिवाल अज्ञात समूहले भत्काएको थियो । उक्त घटना सरकारी योजनामा नै केही स्वार्थसमूहले नियोजित घटाएको भनी स्थानीय जनगुनासो रहँदै आएको छ ।’
वक्तव्यमा भनिएको छ, ‘उक्त गाउँपालिकाकै वडा नं. ७ को कार्यालयबाट असोज १० गते ६० हजार नगद, पुस ९ गते ३० हजार नगद र एक थान ल्यापटप, माघ ७ कार्यालयमा रहेको एक थान कम्प्युटर चोरी र अन्य भौतिक सामग्रीमाथि तोडफोड भएको भनिएको छ । पटकपटक एउटै कार्यालयबाट एउटै प्रकृतिका घटनाहरू दोहोरिरहँदा पनि सम्बन्धित निकाय मौन रहनुले घटना रहस्यमय बन्दै गएको छ । साथै स्थानीय जनताले लगाएको केराघारी फाँडेको घटनासमेत सार्वजनिक भएको छ । यी दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदारसमेत संलग्न रहेको भनी व्यापक जनगुनासो आएको हुँदा उक्त घटनाबारे यथासक्य छिटो सत्यतथ्य छानबिन गरी सार्वजनिक नगरे पार्टीले अनुसन्धान गरी कडा कारबाही गर्ने जानकारी गराउँछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु