एमबीबीएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस

२०७७ माघ १० गते, शनिबार


काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ । चिकित्सा शिक्षामा क्रमशः शुल्क घटाउँदै निःशुल्क गर्ने सरकारको सहमति विपरित आयोगले शनिबार शैक्षिक सत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमको लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको हो । आयोगको शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको छ । शनिबार आयोगको पाँचौं बैठकमा सिफारिस समितिले शुल्क बढाउन प्रस्ताव राखेको शिक्षा मन्त्रालयले जनाएको छ । चिकित्सा शिक्षामा शुल्क क्रमशः घटाउँदै लगेर निःशुल्क गर्नुपर्ने चिकित्सा शिक्षा ऐनको मर्म हो । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले सत्याग्रहका बेला यस्तो सहमति गरेको छ । समितिले १७ विषयमध्ये अधिकांशमा शुल्क बढाउन सिफारिस गरेको छ । समितिले बिडिएस, एमडीएमएस, एमडीएस साइन्स, एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको छ ।

प्रतिक्रियाहरु