जनकलाकारमाथि साङ्घातिक आक्रमण !

२०७७ माघ १० गते, शनिबार


काठमाडौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले भेरी–कर्णाली सांस्कृतिक ब्युरो परिवारका जनकलाकारमाथि साङ्घातिक आक्रमण भएको भन्दै आक्रोश व्यक्त गरेको छ । महासङ्घले माघ ६ गते मुगु जिल्ला खत्याड गाउँपालिका, वडा नं. ८ रिगामा जनकलाकार उषामाथि साङ्घातिक हमला गर्दै मार्ने उद्देश्यले सलले बाँधेर झुन्ड्याइएको अवस्थामा बचाउन जाँदा जनकलाकारहरू सञ्जय, समृद्धि, उमेश, सभ्यता, सुशान्तलगायत १० जना कलाकारलाई सरकारी नेकपाको प्रचण्ड–माधव गुटका श्रीमान ढोलीका छोराहरू दीर्घ ढोली र महान ढोलीले साङ्घातिक आक्रमण गरेर कलाकारहरूलाई गम्भीर घाइते बनाएको भन्दै आक्रोश व्यक्त गरेको हो ।
महासङ्घका महासचिव खेम थपलियाले जारी गरेको वक्तव्यमा महासङ्घले प्रचण्ड–माधव गुटको यसप्रकारको निकृष्ट हर्कतप्रति गम्भीर आपत्ति र घोर भत्र्सना गरेको उल्लेख छ । वक्तव्यमा महासङ्घले जनताका प्रिय कलाकारमाथि साङ्घातिक आक्रमणमा संलग्न अपराधीहरूलाई तत्काल कारबाहीको माग गर्दै यसप्रकारका आपराधिक, फासिवादी र आततायी गतिविधि रोक्न कडा चेतावनी दिएको छ ।त्यसैगरी वक्तव्यमा परिवर्तनकारी आन्दोलनमा जनताका कलाकारले अद्वितीय भूमिका निर्वाह गर्दै आएको, क्रान्तिकारी सांस्कृतिक आन्दोलनबाट १७० भन्दा बढी सांस्कृतिक योद्धाहरूले महान् बलिदान गरिसकेको उल्लेख गर्दै बलिदान, समर्पण र शौर्यको प्रतिबम्बका रूपमा स्थापित जनकलाकारहरूमाथि पटकपटक सामाजिक फासिवादी व्यवस्थाको मतियार वली सरकारले गिरफ्तार गर्ने, धरपकड गर्ने, वाद्यवादनका सामग्री लुट्ने, झूट्टा मुद्दामा फसाउने हर्कत गर्दै आएको अवस्थामा वलीको त्यही सामाजिक फासिवादी चरित्रलाई बिर्साउने गरी दाहाल–नेपाल गुटबाट फेरि पनि जनताका कलाकारमाथि साङ्घातिक आक्रमण गरिएको भन्दै खेद प्रकट गरिएको छ ।
वक्तव्यमा जनताको महान् बलिदानबाट प्राप्त राजनीतिक–वैचारिक अधिकारको सम्मान गर्न र जनताको घरदैलौमा आफ्नो सिर्जना प्रस्तुत गर्दै अघि बढिरहेका जनकलाकारहरूको अभियानलाई अवरुद्ध नगर्न जोडदार माग गरिएको छ । त्यसैगरी महासङ्घले क्रान्तिकारीहरूलाई मारेर, थुनेर, थकाएर, गलाएर, आक्रमण गरेर वा आत्मसमर्पण गराएर महान् जनक्रान्तिको गतिवान् प्रवाहलाई रोक्ने सपना नदेख्न पनि चेतावनी दिएको छ । वक्तव्यमा ससंदीय सत्ताको सिनो लुछ्ने झगडामा निर्लिप्त भ्रष्ट र दमनकारी शासक एवम् असफल सिद्ध भइसकेको दलाल संसदीय व्यवस्थालाई ध्वंस गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न जनक्रान्तिको आँधी–तुफानमा समाहित हुन पनि आह्वान गरिएको छ ।

प्रतिक्रियाहरु