अखिल क्रान्तिकारीद्वारा सम्राटलाई तत्काल रिहा नगरे कडा सङ्घर्ष थाल्ने चेतावनी

२०७७ माघ १० गते, शनिबार


काठमाडौँ । अखिल क्रान्तिकारीले सो सङ्गठनका चितवन जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’ लाई २४ घन्टाभित्र रिहा नगरिए कडा सङ्घर्षमा उत्रने चेतावनी दिएको छ । अखिल क्रान्तिकारी चितवनका संयोजक रेम्बोर्जे लामाले विज्ञप्ति जारी गर्दै हिरासतमा राखिएका जिल्ला नेता सम्राटलाई सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै गिरफ्तारीको गम्भीर भत्र्सना पनि गरेका छन् ।


लामाद्वारा विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा भएका विकृतिहरुका विरुद्ध लड्दै वैज्ञानिक समाजवादी शिक्षा स्थापनाका निम्ति निरन्तर सङ्घर्षको अभियानमा रहेको सम्पूर्णमा जानकारी नै छ । यसै अवस्थामा अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक क. सुमन श्रेष्ठ ‘सम्राट’ लाई केपी–बादल कम्पनीको सरकारले गिरफ्तार गरी हिरासतमा राखेको छ । यस कुराप्रति हाम्रो सङ्गठन गम्भीर भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आफू नाङ्गिएको अवस्थामा पनि सरकार आफ्नो कालो कर्तुत देखाइरहेको छ । जनताको न्यायका पक्षमा उभिने जोकोहीलाई सिध्याउन खोज्ने प्रवृत्ति बन्द गरी क. सुमन श्रेष्ठ ‘सम्राट’ लाई तुरुन्त रिहा गर्न माग गर्दछौँ । पुनश्चः २४ घन्टाभित्र रिहाइ नगरे कडाभन्दा कडा सङ्घर्षमा उत्रिन बाध्य हुनेछौँ ।’

प्रतिक्रियाहरु