नेकपा कालीकोटद्वारा विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया

२०७७ माघ ८ गते, बिहीबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी कालीकोटले विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताइएको छ । सो पार्टीको एरिया नं ४ ले स्थानीय बासिन्दासँग दलाल पुँजीवादी सत्ताको विकल्पमा अन्तरक्रिया गरेको हो । जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्य र सुवासको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, शिक्षक, बुद्धिजीवी र जनसमुदायको उल्लेख्य सहभागिता रहेको कालीकोटबाट प्राप्त समाचारमा जनाइएको छ ।
अन्तरक्रिया कार्यक्रममा सेक्रेटरी रणदीपले संसदीय व्यवस्थाको दलदलमा फसेर समाजवादको कल्पना गर्नु र बाझो गाईबाट दूधको आस गर्नु एउटै हुने बताए । कम्युनिस्ट नाउँ गरेको विद्यमान सरकारले दलाल संसदीय व्यवस्था जोगाउने कसरत गरिरहेको उनको भनाइ थियो । उनले दलाल व्यवस्था सुदृढ गर्ने नाममा बन्दुक प्रयोग गरेर कम्युनिस्टलाई दमन गरिएमा जबाफी फायरका लागि जनमुक्ति सेना तयार रहेको उद्घोष पनि गरे । श्रमिक वर्गको मुक्तिका लागि दलाल व्यवस्थाको पछि लाग्नुभन्दा सबै इमानदार समाजवादी कम्युनिस्टहरू एक ठाउँमा आउनु अनिवार्य बनेको उनको भनाइ थियो ।

प्रतिक्रियाहरु