जल-जहाज र अरु कथाहरू

बलराम तिमल्सिना २०७७ माघ ८ गते, बिहीबार

·

राजधानीमा ,
पाँचखालमा
र लम्की बजारमा
घुइँचो छ मान्छेको
जल जहाजको टिकट काट्न
असिन पसिन छन कर्मचारी
भ्याईनभ्याई छ टिकट दिन ।
मुङ्लिनमा छ एउटा बन्दरगाह
अर्को छ दोलालघाटमा
र अर्को खुल्दै छ चिसापानीमा
जल जहाजहरू
कोही आउँदै छन
कोही जाँदै छन
सबैका टाउकामा फर्फराएका छन्
नेपाली झण्डाहरू !
जहाजहरू
सामान लिएर आउँदै छन
र मान्छे बोकेर जाँदैछन्
एक मुठी खुसी र स्वाभिमान
त्यो पनि जहाजले बोकर लैजादै छ ।
दुई वर्ष कट्यो
सहरमा देखिदैनन् ग्याँसका सिलिण्डर
कुनै पनि घरका चुल्हामा
सिलिण्डर ठडिएको देखिन्न
बरु हरेक चोकमा छन्
ग्याँस रिजर्भ ट्याङ्की
त्यहीँबाट घर घरमा पाइप जोडिएको छ
पाइपबाटै भान्सामा पुग्छ ग्याँस !
झण्डै वर्ष दिन भयो
भोकले मर्न छोडेका छन् कोही पनि
न त अरु रोगले मरेका छन
महिनौंको भोकले सुकेर मरे पनि
मृत्युको कारणको महलमा
भोक लेख्न मनाही गरिएको छ
एउटा नयाँ रोगलाई
दिइएको छ सबै खाले मृत्युको अपजस
ख्वामितको टाउकामा आउने अपजस
सबै नयाँ रोगले समालेको छ !
ख्वामितले घोषणा गरेपछि
भ्रष्टाचार आत्तिएर
शून्यभन्दा तल झरेको छ
अर्थात माइनस पचास कटेको छ
भ्रष्टचारको अस्वभाविक मृत्युपछि
नागरिकहरू समेत
अस्वभाविक रुपमा अतालिएका छन !
दक्षिणबाट खुसी बोकेर
बालुवाटर छिरेको छ बतास
घण्टौंको गमस्तापछि
मुस्कुराउँदै उतै फर्केर गएको छ
बालुवाटार छिरेको खुसी
अलिकति सितल निवास पुगेको छ
अलिकति रामशाहपथ पुगेको छ
जहाँ जहाँ पुगेको छ खुसी
ती ती खुसीले पागल बनेका छन् !
ख्वामितहरू खुसी बनेको देखेर
ससंकित छन सग्ला र सङ्ला मान्छेहरू !
हिजो आज गाउँ सहरमा
यस्तै यस्तै कथा सुन्ने सुनाउने गरिन्छ
कथा सुनिसकेपछि
जोड जोडले हाँस्छन् नानीहरू !

प्रतिक्रियाहरु