बाइडेन राष्ट्रपतिको शपथ लिदै

२०७७ माघ ७ गते, बुधबार

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लागेका हुन् । ट्रम्पले आफ्नो हार स्विकार नगरेपनि सत्ता हस्तान्तरण गर्न बाध्य भएपछि संवैधानिक व्यवस्था अनुसार आज शपथ हुन लागेको हो । शपथ लगत्तै बाइडेनले आजैबाट कार्यभार समाल्नेछन् । ह्वाइट हाउसमा पहिलो दिन नैं बाइडेनले ट्रम्प प्रशाशनले गरेका केही महत्वपूर्ण र दुरगामी असर पार्ने विवादास्पद निर्णय खारेज गर्ने संभावना छ । शपथ समारोहकै लागि राजधानी वासिङ्टन डिसीलगायत देशका सबै ५० राज्यमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । डिसीमा मात्रै १० हजार नेशनल गार्ड तैनाथ गरिएको छ ।

यसैबीच , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् । कार्यकाल छाडनुअघि ह्वाइटहाउसबाट गरेको विदाइ सम्बोधनमा उनले आफुले अपेक्षा भन्दा धेरै काम गरेको दावी गरेका हुन् । ट्रम्पले केहीदिन अघि नै रेकर्ड गरेको भिडियो सम्बोधन मंगलबार सार्वजनिक गरिएको हो । ट्रम्पले २० मिनेट लामो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गरेका छन् ।
आफ्नो प्रशासनले विश्वकै इतिहासमा बलियो अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरेका छन् । आफ्ना एजेण्डाहरु वामपन्थ वा दक्षिण पन्थ, रिपब्लिकन वा डेमोक्र्याटका लागि नभएर देशका लागि भएको उनको दावी छ । नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइ राख्न सफल होस भन्ने कामना ट्रम्पले गरेका छन । सम्बोधनमा ट्रम्पले आफूपछि सत्ता सम्हाल्न आउँदै गरेको जो बाइडेनको नाम लिएका छैनन् । ट्रम्पले नोभेम्बर ३ मा भएको चुनावको नतिजा अझै पनि पूर्णरुपमा स्वीकार गरेका छैनन् । सो चुनावमा उनी जो बाइडेनसँग पराजित भएका थिए ।

प्रतिक्रियाहरु